INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीकाे अभाव हुँदा स्थानीयलाई सास्ती !

मल्लरानी गाउँपालिका – ४ का बुढाचौर गाँउका ५५ घरधुरीले लामो समयदेखि खानेपानीको सुविधा पाउने आशाले सास्ती खेपिरहेका छन्। सरकारले वर्षौंदेखि यहाँ खानेपानीको व्यवस्था नगर्दा, नागरिकहरुले धोविखोलाको कुवा र भङ्गव्याङ्गबाट पानी बोकेर जीवनयापन गर्न बाध्य भएका छन्।

पानीको अभाव र दूषित पानीको प्रयोगले स्वास्थ्य जोखिम बढिरहेको छ। लामो दूरी हिंडेर पानी ल्याउनु पर्ने, वर्षातकालीन समयमा पानीको स्त्रोत धमिलो हुने र गर्मीमा सुख्खा हुने समस्याले झन् गाह्रो भएको स्थानीय जमुना विक र कमला विकले बताउनु भयो ।

स्वच्छ खानेपानीको सुविधा नहुँदा प्रत्येक वर्ष वर्षातको समयमा कुवा धमिलो हुने र कुवाको वरिपरि रहेका फोहोरहरु पानीले बगाएर कुवामा मिसिने हुँदा आफूहरु दुषित पानी पउन बाध्य भएको सिता सुनारले बताइन् ।

यहाँका बस्तीको दीर्घकालीन समस्या समाधानका लागि मल्लरानी गाउँपालिका र लुम्बिनी प्रदेश सरकारबाट झिमरुक पाण्डेडाँडा लिफ्ट खानेपानी योजना निर्माणको तयारी भइरहेको छ। तर, नागरिकहरुले समयमै योजना कार्यान्वयन नभए थप समस्या हुने आशंका व्यक्त गरेका छन्।

हामीले समस्या समाधानका लागि पहल गरिरहेका छौं। पानीको व्यवस्था सुधार गर्न थप योजना अगाडि बढाइने वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भयो।

यहाँ स्वच्छ र सुरक्षित पानीको अभावले रुघाखोकी, जरो, पखाला जस्ता रोगहरु फैलिएर नागरिकहरुलाई सताइरहेको छ । खानेपानी योजना निर्माणमा सम्बन्धित निकायको तत्काल पहल गर्न स्थानीहरुले आग्रह गरेका छन् ।

अन्य

भिडियो