अस्थायी करारका शिक्षकहरु गाउँपालिकाले हटाएपछि मालिका गाउँपालिकाका दुई विद्यालय बन्द भएका छन् । जसका कारण बालबालिका पढ्नबाट बञ्चित भएका छन् । मालिका मालिका गाउँपालिका–२ दर्लिङ्गको शान्त समाज बाल विकास केन्द्र र वडा नं. ७ घमिरको बाँसखोला बाल विकास केन्द्र बन्द भएपछि चार दिनदेखि बालबालिकाको पढाइ प्रभावित भएको छ ।
शान्त समाज बाल विकास केन्द्रमा कार्यरत शिक्षिका कल्पना घर्तिले जेठ २२ गतेबाट विद्यालय छोडेपछि ११ जना विद्यार्थीको पढाई प्रभावित भएको छ । दैनिक अभिभावकले बिद्यार्थी बोकेर आउने र फर्किने गरेको स्थानीय अभिभावक कमला विश्वकर्माले गुनासो गर्नुभयो । बाहिर लैजाने बिकल्प नहुँदा आफुहरु दैनिक आधा–पौने घण्टा हिँडेर बच्चा बिद्यालयमा ल्याउँदै फर्किदै गरेको विकले गुणासो गर्नुभयो ।
त्यस्तै मालिका गाउँपालिका–७ को बाँसखोला बालबिकास केन्द्र पनि तिन दिनदेखि बन्द रहेको छ । केन्द्रमा कार्यरत शिक्षिका राधिका खड्काले पालिकाको निर्देशन अनुसार जेठ २४ गतेबाट जागीर छोडेपछि तीनदिनदेखी बालबालिका शिक्षाको अधिकारबाट बन्चित भएका छन् । बालबालिकालाई टाढा पुर्याउन नसकिने भएकाले अन्यौलतामै तीन दिन विद्यालय बन्द भएको बाँसखोला बाल विकास केन्द्र ब्याबस्थापन समिती अध्यक्ष टेकबहादुर परियारले गुनासो गर्नुभयो ।
मालिका गाउँपालिकाका विभिन्न सेवा क्षेत्रमा कार्यरत करारका कर्मचारी हटाउने निर्णयमा कार्यपालिकामा एकमत नहुँदा डेढ महिनादेखि गाउँपालिका विवादमा फसिरहेको छ । मालिका गाउँपालिका–५ का वडाअध्यक्ष रेखाकुमार जिसीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कानुनभन्दा माथि अगाडि बढेका कारण अप्ठ्यारो अवस्था आएको बताउनुभयो । उहाँले समस्या समाधानका विकल्प बिना एकैचोटी शिक्षा, स्वास्थ्य र वडा कार्यालयमा कार्यरत कर्मचारी हटाउनु दुःखद विषय भएको बताउनुभयो ।
मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले भने गाउँपालिकाको आर्थिक भार बढी र दरबन्दी नभएका कारण बेरुजुलाई मध्यनजर गरेर कर्मचारी हटाउने निर्णय भएको बताउँदै आउनुभएको छ । गाउँपालिकामा शिक्षकतर्फ २६, बालविकासतर्फ १४, स्वास्थ्यतर्फ नौ र कम्प्युटर अपरेटर तथा कार्यालय सहायकतर्फ सात जनाको करार अवधि नथप्ने निर्णयको भएको थियो । यी मध्ये ३७ जना हालैसम्म पनि कार्यरत छन् ।