अदानचुली गाउँपालिका–१, २ र ३ स्थित श्रीनगरमा खानेपानीको समस्या रहेको छ। गत चैतदेखि नै खानेपानीको अभावका कारण स्थानीय बासिन्दाले दैनिक जीवन सञ्चालन गर्न कठिनाइको सामना गरिरहेका छन्।
च्याम खोलाको मुहानमा बर्खा परे पनि पानीको स्रोत सुक्दै गएपछि गाउँका मानिसहरू खानेपानीको लागि रातभरि जाग्राम बस्न बाध्य भएको स्थानीय विर्ष महताराले बताउनु भयो । सार्वजनिक धारामा दैनिक एक घण्टा मात्र पानी उपलब्ध हुने हुँदा, घरधुरीका सदस्यहरूले २४ घण्टा लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ।
खानेपानीको समस्या समाधानको लागि गाउँपालिकाले ‘एक घर, एक धारो’ योजना ल्याएको भए पनि हालसम्म पूर्ण कार्यान्वयन हुन सकेको छैन। १ हजार ५ सय भन्दा बढी घरधुरी रहेको श्रीनगरमा तीनवटा सार्वनजिक धारा छन् । गाउँमा भएका धारामा पानी नआएपछि बजारवासी कर्णाली करिडोरको गल्फागाड खोलाके अधेरीखोलाबाट घण्टाँ लगाएर पानी ल्याउनु पर्ने बाध्यता छ । खोलाको पानी धमिलो भएकाले स्वास्थ्य संकट र संक्रमणको खतरा बढिरहेको छ।
पानीको समस्या समाधानका लागि ठूलो बजेट र लामो समय लाग्नेछ। करिब १५ किलोमिटर टाढाको लाम्ले भन्ने ठाउँबाट पानी ल्याउन आवश्यक छ, जुन अहिलेको अवस्थाका लागि उपयुक्त कदम रहेको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले बताउनु भयो । गाउँपालिकाले स्वयमले यस समस्यालाई तत्काल समाधान गर्न नसक्ने रोकाया बताउनु हुन्छ।
अदानचुली गाउँपालिकामा खानेपानीको दीर्घकालीन समाधानका लागि सरकारी र स्थानीय तहको संयुक्त प्रयास आवश्यक देखिन्छ ।
