वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा मापदण्ड विपरित वधशाला सञ्चालन गर्दा यहाँका ६ सय घरधुरीलाई समस्या परेको छ । ग्लोबल एल एस प्रो एग्रो प्रालिले बस्तीको सिरानमा वधशाला सञ्चालनमा ल्याएको हो । वडा नम्बर १३ को करेखोला, इन्द्रपुर (क र ख), सितापुर र देवस्थान टोलका नागरिक मापदण्ड विपरित सञ्चालनमा रहेको वधशालाका कारण दैनिक हैरानीमा परेका छन् । वधशालाबाट निस्कने दुर्गन्ध, फोहोर पानी, पशुजन्य अवशेष र किराहरूका कारण उनीहरूको जीवन कष्टकर बन्दै गएको छ ।
बधशालाबाट निस्कने फोहरले गाउँ नै दुर्गन्धित बनाएको स्थानीय बिन्दु सुवेदीले बताइउनु भयो । ‘वधशालामा भैंसी काटेपछि फालिने रगत, आन्द्रा अनि कुहिएको फोहोरले हामी बस्ने वातावरण नै बिग्रिएको छ,’ उहाँले भन्नुभयो, ‘दुर्गन्धका कारण गाउँभरी झिंगा फैलिएका छन् । जसका कारण खाना खान समेत मन लाग्दैन ।’ बस्तीको सिरानमा नै मापदण्ड विपरित वधशाला सञ्चालन भएपछि गाउँ नै रोगको जोखिममा परेको अर्का स्थानीय कृष्ण नेपालीले बताउनु भयो । ‘वर्खायाममा त झन् हैरानी हुन्छ । वधशालाबाट बग्ने फोहोर पानीले खोला प्रदूषित हुन्छ,’ उहाँले भन्नुभयो, ‘जसले पानीबाट संक्रमण फैलिन्छ । गर्मीयाममा त हावा सँगै दुर्गन्ध गाउँभरि फैलिन्छ ।’ उनीहरु जस्तै यहाँका सबै स्थानीयलाई वधशालाले प्रत्यक्ष असर पारेको छ ।
स्थानीय स्वास्थ्य संस्थामा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको वडा नम्बर १३ स्थित जर्बुटा स्वास्थ्य चौकीका इन्चार्ज अमरबहादुर सुनारले बताउनु भयो । ‘विशेषगरी यस वडाका पाँचवटा बस्तीबाट मात्रै दैनिक ३० देखि ४० जना बिरामी आउँछन्,’ उहाँले भन्नुभयो, ‘धेरैजसो बिरामी पखाला, पेट, ज्वरो, छालासम्बन्धी एलर्जी, श्वासप्रश्वासको समस्या र पेट सम्बन्धी संक्रमण देखिन्छ । प्रदूषित वातावरण र खानेपानीको अवस्था यसमा मुख्य कारक हो भन्ने हामीले आँकलन गरेका छौं ।’ उहाँका अनुसार वधशालाको अस्वस्थ वातावरणका कारण गाउँका बालबालिका र बृद्धवृद्धाहरू त्यसको प्रमुख सिकार बनेका छन् । फोहोर र प्रदूषणका कारण गाउँमा मौसमी र भाइरल रोग फैलन सक्ने उहाँको भनाई छ ।
वडा नम्बर १३ का वडाअध्यक्ष दिपेन्द्र कोइरालाले समस्या समाधानका लागि बारम्बार नगरपालिका र सरोकारवाला निकायमा खबर गर्दा समेत कुनै सुनुवाई नभएको बताउनु भयो । ‘यहाँको समस्याको विषयमा हामीले सम्बन्धित निकायमा बारम्बार ध्यानाकर्षण गराउदै आएका छौं । वडाले वधशाला बन्द गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘स्थानीयको जीवनस्तर, स्वास्थ्य र सरसफाइको सरोकारवाला निकाय बेखबर छन् । वधशाला व्यवस्थापन गर्न पटक–पटक आग्रह गर्यौ तर कुनै ठोस पहल गरिएको छैन ।’
वीरेन्द्रनगर नगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख यज्ञप्रसाद पाण्डेले मापदण्डअनुसार नभएको स्वीकार गर्नुभयो । उहाँले मापदण्ड विपरित वधशाला सञ्चालन भएपछि संयुक्त रुपमा अनुगमन गरेर प्रतिवेदन सार्वजनिक गर्दा पनि सुनुवाई नभएको बताउनु भयो । ‘स्थानीयको गुनासो आएपछि २०८१ मा हामीले संयुक्त रुपमा अनुगमन गरेर प्रतिवेदन सार्वनिक गर्यौं,’ उहाँले भन्नुभयोे, ‘वधशालाका लागि आवश्यक मापदण्ड नै पुरा गरिएको थिएन । वधशालाका सञ्चालकलाई सचेत गरायौं । त्यहि सुझाव दिएर हामीले माथिल्लो निकायमा पठाएका थियौं । तर, सुनुवाई नै भएन ।’
वधशालाका सञ्चालक लोकबहादुर ठाडालाई यस विषयमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउनुभएन । पूर्व सञ्चालक सुशील देवकोटाले सबै प्रक्रिया पुर्याएर काम अगाडी बढाएपनि लाइसेन्स आउन बाँकी रहेको बताउनुभयो । ‘पहिला त्यसको सञ्चालक म नै हो । पछि मैले लोकजीलाई जिम्मा दिएको हुँ,’ उहाँले भन्नुभयोे, ‘टोलदेखि वडा नगर, प्रदेश कृषि निर्देशनालय हुँदै केन्द्रमा क्याबिनेटले नै स्वीकृत दिएको हो । पशु सेवा विभागले मात्रै लाइन्सेन्स दिएको छैन । बाँकी कुरा लोकजीसँगै गर्नुहोला ।’
विश्व वातावरण दिवसको अवसरमा नेपाल नाजरेत सोसाइटी नवज्योति केन्द्र सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–१३ मा आयोजना गरेको कचहरी कार्यक्रममा स्थानीयले आक्रोश पोखेका थिए । कार्यक्रममा सहभागी कर्णाली सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई ध्यानाकर्षण नै गराएका थिए । मन्त्री भण्डारीले उक्त समस्याको विषयमा समाधान गर्न समन्वयकारी भूमिका खेल्ने बताउनुभएको छ । यदी समयमा वधशालाको व्यवस्थापन नभए तालाबन्दी गर्ने स्थानीयले चेतावनी दिएका छन् ।


