मोरङ खेलकूद विकास समितिको कार्यालयका प्रमुख राजन पोखरेललाई हातपात र ज्यान मार्ने धम्की दिनेहरूलाई कारबाही गर्न माग गरिएको छ ।
मोरङ जिल्ला खेलकूद विकास कर्मचारी सङ्घले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत खेलकूद विकास समिति कार्यालयमा ०८२ जेठ २२ गतेको घटनाप्रति आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गर्दै जेठ २५ गते ज्ञापनपत्र बुझाएको छ ।
सङ्घका अध्यक्ष प्रकाश मल्ल र सचिव विनोद मारिकद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जेठ २२ गते रामबहादुर लिम्बू, चन्द्र राजवंशी र धर्मप्रसाद न्यौपाने नामक गरेका व्यक्तिहरूले कार्यालय प्रमुखलाई हातपात गरेको र ज्यान मार्ने धम्की दिएको ज्ञापनपत्रमा उल्लेख छ ।
कर्मचारीमाथि कुटपिटको घटनाले कार्यालयको काम कारवाही प्रभावित भएको सङ्घले जनाएको छ ।
घटनापछि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए पनि जेठ २४ गतेसम्म पनि कानुनी प्रक्रिया अघि नबढाइएको सङ्घले आरोप लगाएको छ ।
सङ्घले १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट चरणको खेल अन्तर्गत प्रदेशस्तरीय छनौट प्रतियोगिता नजिकिँदै गर्दा कर्मचारी असुरक्षित हुने किसिमका घटनाले जिल्लाको खेलकुद गतिविधिमा गम्भीर असर पार्ने भएकाले दोषीलाई कारबाहीको माग गरिएको छ ।
घटनाका दोषीलाई कारबाही नभए जिल्लामा हुने खेलकूदका गतिविधिमा अवरोध गर्ने चेतावनी समेत ज्ञापनपत्रमार्फत दिइएको छ ।
पीडित पक्षले प्रदेश खेलकूद विकास बोर्ड, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय खेलकूद परिषद् कर्मचारी सङ्घ काठमाडौँ, मोरङ जिल्ला खेलकुद विकास समिति तथा वडा प्रहरी कार्यालय, विराटनगरलाई समेत बोधार्थ पठाइएको छ ।
