INSEC Online

📅 २०८३ जेष्ठ २१

आप्रवासी नेपालीको मानव अधिकार संरक्षण गर्नुपर्ने

वैदेशिक रोजगारीमा जाने आप्रवासी नेपालीको मानवअधिकार संरक्षण गर्नुपर्नेमा सहभागीले जोड दिएको राससले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर २६ गते ‘नेपालमा सुरक्षित वैदेशिक रोजगार र मानव बेचबिखन नियन्त्रणको लागि सुधार गर्नुपर्ने नीतिगत’ विषयक राष्ट्रिय परामर्श बैठकमा सहभागीले वैदेशिक रोजगारमा जाने श्रमिकको मानव अधिकार हनन् भइरहेकाले त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले विदेशमा काम गर्ने श्रमिकले सम्मानजनक ढङ्गले काम गर्न पाउनुपर्ने बताए ।

उनले जुन देशमा गएर काम गरे तापनि श्रमिकको विश्वव्यापी रूपमा रहेको मानव अधिकारको उपयोग गर्न पाउनुपर्ने बताए । “वैदेशिक रोजगारमा जाने श्रमिकले मानव अधिकार उपयोग गर्न पाएका छैनन् ।”-उनले भने-“श्रमिक अन्तर्राष्ट्रिय कानुन अनुसार मानव अधिकारको अनुभूति पाउनु पर्दछ ।”

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले कानुन नजानेर धेरै श्रमिकले विदेशमा दुःख पाएको बताए । पारवहन विन्दु (ट्रान्जिट)मा अहिले पनि धेरैले समस्या भोग्नुपरेको भन्दै उनले सम्बन्धित देशसँग समन्वय गरेर पारवहन बिन्दुमा भोग्नुपर्ने समस्या समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा श्रम सचिव लक्ष्मणप्रसाद मैनालीले कानुन अभावका कारण वैदेशिक रोजगारमा जाने श्रमिक ठगिने गरेको बताए ।

उनले वैदेशिक रोजगार ऐन परिमार्जन गरेर श्रमिकका अधिकार स्थापित गर्न थालिएको बताए । उनले जिल्लामा धेरै श्रमिक ठगिने गरेकाले त्यसलाई नियन्त्रण गर्नका लागि अब हामीले वैदेशिक रोजगारमा ठगिने व्यक्तिको मुद्दा हेर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिने तयारीमा रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले वैदेशिक रोजगारीमा रहेका श्रमिकको मानव अधिकारको अवस्था जटिल बन्दै गएको बताए । “आठ घण्टा काम गर्नेमा १४ घण्टा काम गर्नुपरेको छ । ज्यालामा पनि ठगिएका छन् ।”-उनले भने-“सरकारले सम्बन्धित देशमा गएर हाम्रा देशमा श्रमिकको मानव अधिकारका कुरा स्थापित गराउनुपर्‍यो ।”

कार्यक्रममा आयोगका सचिव वेद भट्टराईले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाई श्रमिकका मानव अधिकार संरक्षण गर्नुपर्ने बताए । उनले संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतले नेपालले नेपाली आप्रवासीको मानव अधिकारको संरक्षण गर्नका लागि सम्बन्धित देशसँग कुरा गर्नुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले श्रम सम्झौता नभएका देशमा बढी मानव अधिकार हनन् भएको बताए । कार्यक्रममा आप्रवासी सञ्जालका मञ्जु गुरुङले वैदेशिक रोजगारीमा जाने महिलाको अवस्था दयनीय बन्दै गएको बताइन् ।

अहिले १ सय १० देशमा संस्थागत रूपमा र १ सय ६७ देशमा व्यक्तिगत रूपमा वैदेशिक रोजगारमा जाने गरेका र १ सय ८० देशमा नेपाली रहेको सरकारी तथ्याङ्क रहेको छ ।

अन्य

भिडियो