INSEC Online

📅 २०८३ जेष्ठ २१

चिस्यान केन्द्र सञ्चालन नहुँदा कृषकहरू समस्यामा

जिल्लामा निर्माण भएका दुई ओटा चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा कृषकहरूले समस्या भोग्नु परिरहेको छ । प्रदेश सरकारको खर्चमा २०७७ सालमा १ करोड ५० लाख रुपियाँमा निर्माण गरिएका चिस्यान केन्द्र एक वर्षअघि सञ्चालनमा आए पनि हाल बन्द रहेका छन् ।

प्यूठान नगरपालिका- ४ र माण्डवी गाउँपालिका-३ मा रहेको चिस्यान केन्द्र सञ्चालन नहुँदा कृषकहरूलाई आफ्ना उत्पादनहरू दाङ जिल्लाको लमहीका कोल्ड स्टोरमा महँगो शुल्क तिरेर भण्डारण गर्न बाध्य बनाएको छ । प्यूठान नगरपालिका-३ का कृषक लोकराज पोखरेलले भने, ‘हामीले प्यूठानको कोल्ड स्टोरमा आलुको बीउ प्रति केजी दुई रुपियाँमा राख्न सक्थ्यौं, तर अहिले लमहीमा प्रति केजी ८ रुपियाँ शुल्क तिर्नुपरेको छ ।’

चिस्यान केन्द्रमा प्रयोग गरिएको प्रविधि पुरानो र फेज आउट भएको हुँदा सञ्चालनमा समस्या देखिएको नगरप्रमुख विष्णु योगीले बताउनु भयो  । सञ्चालन खर्च उच्च रहेकोले पनि चिस्यान केन्द्रहरू पूर्णरूपमा सञ्चालन गर्न नदिएको उहाँले बताउनु भयो ।

चिस्यान केन्द्रमा प्रयोग गरिएको प्रविधि कमजोर भएको र जनशक्ति अभावका कारण सञ्चालनमा समस्या आएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताउनु भयो ।

जिल्लाका कृषकहरूले आफ्नो उत्पादनको गुणस्तर कायम राख्न लामो समयसम्म भण्डारण गर्न चिस्यान केन्द्रहरूको आवश्यक पर्ने माग राख्दै आएका थिए । यद्यपि, ती केन्द्रहरूको प्रभावकारी सञ्चालन हुन नसक्दा कृषकहरू चिन्तित भएका छन् ।

अन्य

भिडियो