तामाकोसी नदीमा पानीको सतह घटेपछि मन्थलीमा खानेपानीको अभाव भएको छ ।
मन्थली बजारमा खानेपानी आपूर्ति गर्ने तामाकोसी नदीमा पानीको सतह घटेर तल पुगेपछि खानेपानी लिफ्ट गर्नका लागि निर्माण गरिएका इनारहरूमा पर्याप्त पानी आउन छोडेको कारण सदरमुकाम मन्थली बजारमा पानीको अभाव भएको हो ।
अत्यधिक गर्मीको समयमा धारामा पर्याप्त पानी नआउँदा मन्थलीवासीहरू समस्यामा परेका छन् । नुहाउन, लुगा धुन पानी धेरै चाहिने बेलामा दैनिक एउटा धारोमा ५ सय लिटर पानी पनि आउन छाडेपछि निक्कै समस्या भएको मन्थली–१ की सुनिता श्रेष्ठ बताउनु हुन्छ । ‘दैनिक ५ सय लिटर पनि पानी आउन छाड्यो, घरमा, भाडामा बस्ने सबैले त्यो पानी कति बाँड्नु ?, यस्तो गर्मीको बेलामा पानीका जरुवा खोज्दै हिँड्नु परेको छ’, उहाँले भन्नुभयो ।
इनारमा पर्याप्त पानी नआउँदा पानी वितरणमा समस्या आएको मन्थली खानेपानी उपभोक्ता समितिले जनाएको छ । पानी कम आएको कारण पर्याप्त पानी सङ्कलन गर्न नसक्दा वितरणमा समस्या आएको समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले बताउनुभयो ।
तामाकोसीको पानी किनारमा इनार बनाएर जम्मा गरी लिफ्ट गरेर माथि डाँडाको टङ्कीमा खसाली मन्थलीका उपभोक्तालाई वितरण गर्ने गरिएको छ । मन्थलीका १ हजार बढी धारामा सो पानी वितरण हुँदै आएको छ ।
नदीमा पानीको सतह नबढेका कारण जेठ महिना भर यो समस्या हुन सक्ने उपभोक्ता समितिले जनाएको छ । मन्थलीका मात्र होइन तामाकोसी लगायतका नदी र खोलामा पानीको सतह घट्दा सबै ठाउँमा पानीको समस्या भएको छ ।