INSEC Online

📅 २०८३ जेष्ठ २१

सामुदायिक स्वास्थ्य इकाइमा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती !

खार्पुनाथ गाउँपालिका–५ स्थित ताक्लामा रहेको ताक्ला सामुदायिक स्वास्थ्य इकाइमा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती भएको छ । ०८१ माघ महिनादेखि स्वास्थ्यकर्मी नै स्वास्थ्य चौकीमा उपस्थित नभएपछि स्वास्थ्य संस्था बन्द हुनुका साथै सेवाग्राहीले समेत सास्ती खेप्नु परेको छ ।

एक जना अहेव कार्यरत रहेको इकाइमा स्वास्थ्यकर्मी नै विहिन बनेपछि ताक्ला गाउँका स्थानीय नागरिक औषधी तथा उपचारबाट वञ्चित हुनु परेको हो । खार्पुनाथ गाउँपालिकाबाट सेवा सुविधा लिइरहेका अहेव जयन्द्र शाही स्वास्थ्य इकाइमा उपस्थित नहुँदा स्थानीयलाई उपचारमा समस्या भएको स्थानीय कालीबहादुर बोहराले गुनासो गर्नुभयो ।

ताक्ला, बाम्टा र चौड गरी ७४ घरधुरीको लागि स्थापित स्वास्थ्य इकाइमा कर्मचारी उपस्थित नहुँदा स्वास्थ्य उपचारबाट वञ्चित हुनु परेको बोहराको भनाइ छ । स्थानीय बोहराका अनुसार गाउँका सेवाग्राहीहरू सामान्य बिरामी हुँदा औषधी उपाचारका लागि सिमकोट गाउँपालिका–१ को कुम्लिक स्वास्थ्य इकाइमा ४५ मिनेट र वडा नम्वर २ को ठेहे स्वास्थ्य चौकीमा तीन घण्टा पैदल मार्ग हुँदै सेवा लिनुपर्ने बाध्यता छ ।

यसको जानकारी गाउँपालिकालाई पटक पटक गराउँदा पनि अहिले सम्म समस्या समाधान नभएको स्थानीयले गुनासो गरेका छन् । सामान्य रुघाखोकी, ज्वरो, टाउको दुखेको बेला सिटामोल पाउनका लागि तीन घण्टा पैदल जानुपर्ने बाध्य भएका छन् । पाँच महिनादेखि कर्मचारी स्वास्थ्य चौकीमा उपस्थित नहुँदा टाउको दुखेमा स्थानीयले छटपटाएर बस्नु पर्ने बाध्यता छ भने ठूलो बिरामी हुँदा पाँच घण्टा पैदलमा जानुपर्ने बाध्यता स्थानीयको गुनासो छ ।

स्थानीयले हालसम्म स्वास्थ्य संस्था बन्द रहेको भन्ने जानकारी नगराएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रोववले बताउनु भयो । उहाँले त्यसरी स्वास्थ्य संस्था बन्द गर्न नहुने र गरेको खण्डमा गाउँपालिका स्वास्थ्य शाखालाई जानकारी गराएको भए गाउँपालिकाले अर्को व्यवस्था गर्न सक्ने बताउनु भयो ।

अन्य

भिडियो