नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा बाढी पहिरो आएपछि गाउँ नै उच्च जोखिममा रहेको छ । ०८२ जेठ १ गते रातिको समयमा गाउँ भन्दा माथि रहेका दुई ओटा हिमतालहरू फुटेपछि गाउँ नै उच्च जोखिममा रहनुका साथै हाल सो गाउँका स्थानीयहरू खुल्ला आकासको त्रिपाल मुनि बस्न बाध्य भएका छन् ।
बाढी पहिरोपछि अध्ययनका लागि पुगेको टोलीले हिमताल फुटेको फेला पारेको नाम्खा गाउँपालिकाका–६ का वडा सदस्य तेम्बा तुण्डुप लामाले बताउनु भयो । उहाँले आफूसहित चार जनाको टोली ४७ सय मिटरभन्दा माथिको स्थानसम्म पुग्दा हिमताल फुटेको फेला पारेको बताउनु भयो । बाढी पहिरोले गाउँ नै जोखिम अवस्था भएपछि गाउँका स्थानीयहरू पाँच दिनदेखि गाउँ छोडेर खल्ला आकास मुनि रात कटाउन बाध्य भएको वडा सदस्य लामाले बताउनु भयो ।
नाम्खा गाउँपालिका–६ को तिलगाउँ र कञ्जुम गुम्बाको बिच भएर बग्ने सेखाङलुग्वा खोलामा आकासे पानी नपरेरै एक्कासी बाढी आएको थियो । उक्त बाढी लगतै जोखिममा परेका १८ घरपरिवारका ३२ जना आफै सोही दिन सुरक्षित स्थानमा बसेका थिए । उनीहरू पहिरोले गाउँ नै बगाउने डरत्रासमा त्रिपालमा बस्दै आएका छन् । सो गाउँमा २१ महिला, नौ जना पुरुष र दुई बालक छन् । बिना वर्षा एक्कासी बाढी आउँदा त्रसित भएका स्थानीयले कारण खोज्दै खोलाको माथिल्लो भेगतिर जाँदा हिमताल फुटेको पत्ता पाएका थिए । लेदो सहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका पाँच ओटा काठे पुल बगाएको छ । स्थानीय छे बुटी लामाको घर चर्किएको छ भने सोनाम साङ्गु लामाको घरको छतमा पहिरोले क्षति पुर्याएको छ ।
१५ किलोबाट क्षमताको एउटा जलविद्युतको पावर हाउस बगाएको छ भने करिब ४ सय रोपनीमा सिचाइँ हुँदै आएको कुलो समेत बगाएको छ । बाढी पहिरोका कारण उवा, आलु लगायतको खेती बगाएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनु भयो । राति एक्कासी बाढी आउँदा तिल गाउँबाट गुम्बा आवतजावत गर्नेबाटो अवरोध भएको छ । बाढी पहिरोले सबै तहसनहस बनाएपछि स्थानीय चिन्तित बन्दै गएका छन् । पहिरोका कारण स्थानीय जोखिम मोलेर बस्नु मात्रै नभइ आगामी दिन गास, बास र कपासको समेत कठिनाइ हुने स्थानीयले गुनासो गरेका छन् ।
उक्त घटना भएपछि हिल्सादेखि ६ घण्टा पैदल मार्ग हुँदै सात जना नेपाल प्रहरी र ६ जना ससस्त्र प्रहरी बलको टोली पहिरो ग्रसित क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शङ्खर पोखरेलले बताउनु भयो । पहिरोले पुर्याएको क्षतिको थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनु भयो । गाउँ नजिकै दुई मिटर मात्रै रहेर पहिरो गएपछि पहिरोको असरले केही घरलाई क्षति बनाएकोले मानिसहरू गाउँ नै छोडेर खुल्ला आकासमा बस्न बाध्य भएका हुन् ।