INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक हत्या घटनाका आरोपित गिरफ्तार

बुटवल उपमहानपा–११, कालिकानगरस्थित मिलिजुली पथका ३१ वर्षीय दीपा बस्याल, छोरी सात वर्षीया स्नेहा ढकाल र चार वर्षीया हिमानी ढकालको हत्या गरेको आरोपमा मृतकका पूर्वपति ३५ वर्षीय सुजन कोइलालाई प्रहरीले ०८२ जेठ १४ गते गिरफ्तार गरेको छ ।

मृतक पाल्पा जिल्लाको तानसेन नगरपालिकामा स्वास्थ्यकर्मीको रूपमा काम गर्दै आएको र जेठ १४ गते बिहान आरोपितको घरमा हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ । आरोपितले आफ्नै दाजुको हत्या र चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत रुपन्देहीले २० वर्ष कैद सजाय तोकिएकोमा आठ वर्ष कैद सजाय काटी ०७८ असोज ३ गते संविधान दिवसको अवसरमा राष्टपतिद्वारा आम माफी पाएर कोइराला कैदमुक्त भएका थिए ।

आरोपित कोइराला र दिपा बस्यालको कोइराला कारागार जानुभन्दा चार महिना अगाडि मात्रै विवाह भएको थियो । कोइराला जेल चलान भएपछि दिपा टाढिएको र सम्बनध विच्छेद भएको थियो । कोइरालासँग सम्बन्ध विच्छेद गरेपछि दिपाले नवलपरासी सुस्ता पूर्व जिल्लाको कावासोती नगरपालिकाका शंकर ढकालसँग विवाह गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदिप बहादुर क्षेत्रीका अनुसार आरोपितले चक्कु र हत्यौडाको प्रयोग गरी आमा सहित दुई छोरीहरूको हत्या गरेको बताउनु भयो । हत्या गरिएका तीन जनाको घाँटी र टाउकोमा गहिरो चोट लागेको छ । अन्यत्रै विवाह भएपछि पनि दिपा पूर्व पतिकोमा किन र कसरी आइन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कारागारबाट छुटेपछि कोइरालाले कारागारमा बस्दा उनले हस्तकला सिकेका थिए । जेलमा बस्दा हस्तकला सिकेका कोइरालाले जेलबाट फर्केर हस्तकलालाई आफ्नो पेशा अपनाएका थिए । कोइरालाले आफ्नै घरमा हस्तकलाका सामाग्रीहरू निर्माण गरी बिक्री गर्दै आइरहेका थिए । मृतक परिवारका अन्य सदस्यहरूसँग सम्पर्क नभएकोले वास्तविक अवस्था के हो बताउन नसकिएको एसपी क्षेत्रीले बताउनु भयो । मृतकको शवलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

अन्य

भिडियो