“बिहेबारी २० वर्ष पारी” भन्ने भनाई मात्रै हैन कानुनी व्यवस्था पनि छ । तर पाल्पामा भने बालविवाह पछि किशोरी अवस्थामै गर्भवती हुने किशोरीहरुको सङ्ख्या १३ प्रतिशत रहेका छन् ।
कुल गर्भवती महिलामध्ये करिव १३ प्रतिशत गर्भवती २० वर्ष भन्दा कम उमेर समूहका रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले बताउनु भयो । गत तीन आर्थिक वर्षमा पाल्पामा जम्मा १३ हजार ९ सय ९८ गर्भवती महिला रहेकोमा १ हजार ७ सय ८१ जना गर्भवतीको उमेर २० वर्ष मुनि रहेको उहाँले बताउनु भयो ।
यसरी बालिका अवस्थामै गर्भवती हुनेमा सबैभन्दा बढी दुर्गम निस्दी गाउँपालिकामा रहेका छन् । जहाँ कुल गर्भवतीमध्ये २५ प्रतिशत गर्भवती बालिका रहेको उहाँले बताउनु भयो ।
तिनाउ गाउँपालिकामा २३, माथागढी गाउँपालिकामा २१, रैनादेवी छहरा गाउँपालिकामा १९, रामपुर नगरपालिकामा १५, रिब्दीकोट गाउँपालिकामा १४, पूर्वखोला गाउँपालिकामा १३, रम्भा गाउँपालिकामा ११, बगनासकाली गाउँपालिकामा ८ र तानसेन नगरपालिकामा ८ प्रतिशत किशोरी गर्भवती भएको प्रमुख पोखरेलले बताउनु भयो ।
पाल्पामा स्थानीय तहहरूले समेत स्थानीय बालमैत्री शासन कार्यक्रम अन्तरगत बालबिबाह न्यूनीकरणका अभियान अगाडि सारेका छन् । हालसम्म बगनासकाली र रम्भा गाउँपालिकामा बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तरगत बालमैत्री पालिका घोषणा भइसकेको छ भने निस्दी गाउँपालिकालाई आगामी आर्थिक वर्षभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी तयारी गरिएको छ ।