INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रादेशिक आयुर्वेदिक अस्पतालमा प्रयोगशाला बन्द हुँदा सेवाग्राहीहरू मार्कामा

सिरहा नगरपालिका-१ स्थित प्रादेशिक आयुर्वेदिक अस्पतालमा रहेको प्रयोगशाला बन्द रहेको हुँदा सेवाग्राहीहरू समस्यामा परेका छन् ।

अस्पतालका निमित्त कार्यालय प्रमुख दिपेन्द्र प्रसाद यादवले ०५२ सालमा स्थापना भएको यस अस्पतलमा प्रयोगशाला, उपकरण र प्रयोगशाला सहायक भए तापनि सेवा बन्द रहेको बताउनु भयो । प्रयोगशालाका लागि आवश्यक रसायन र अन्य रसायनिक सामग्रीहरू प्रदेशबाट नआएकोले सेवा सञ्चालन गर्न नसकिएको यादवले बताउनु भयो ।

निमित्त कार्यालय प्रमुख दिपेन्द्र प्रसाद यादवका अनुसार ०७८ सालमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रादेशिक आयुर्वेदिक अस्पतालमा प्रयोगशाला सञ्चालनको लागि बजेट विनियोजन भइ प्रयोगशाला निर्माण भएको थियो । तर हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । जसका कारण दैनिक ७० देखि १ सय जना सम्म सिबिसि, सुगर लगायतका जाँचका सेवा लिन आउने सेवाग्राहीहरू सेवा उपलब्ध नहुँदा फर्किनु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, प्रयोगशालामा जाँच गरेर रोग पत्ता लगाई औषधी दिँदा रोगको निवारण चाँडै हुने भएको तर सेवा सुचारु नहुदाँ लक्षणको भरमा मात्र औषधी दिने गरेका छौं ।

कार्यालय प्रमुखले प्रयोगशाला लगायतका विषयहरूमा ध्यान नदिँदा सेवा सुचारु नभएको यादवले बताउनु हुँदै हाल सो को जिम्मा आफूले पाएको र प्रयोगशाला सञ्चालनको लागि आवश्यक रसायन लगायतको सामग्रीहरू मगाएकोले चाँडै सेवा सुचारु गर्ने जानकारी दिनु भयो । यस अस्पतालमा विशेष गरी आर्थिक रुपले विपन्न तथा पिछडिएका समुदायका व्यक्तिले सेवा लिन आएको हुनाले सेवा नपाउँदा निजी अस्पतालमा महंगो रकम तिर्न बाध्य भएको यादवले बताउनु भयो ।

त्यसैगरी, अस्पतालमा एक जना मात्र प्रयोगशाला सहायक रहेकोले प्रदेशसँग थप एकजना जनशक्ति माग गरेको यादवले बताउनु भयो । साथै विगतमा सरकारले सेवाग्राहरीहरूलाई ३० प्रकारको औषधी निःशुल्क व्यवस्था गर्दै आएकोमा सो को सङ्ख्या कटौती गरी हाल २३ प्रकारको औषधी मात्र उपलब्ध गराएको उहाँले बताउनु हुँदै सिरहाको १७ ओटै पालिकासँग समन्वय गरी आयुर्वेदिक अस्पताल सञ्चालन गरेको जानकारी दिनु भयो ।

गोलबजार नगरपालिकाका सुरज साहले आयुर्वेदिक अस्पताल सञ्चालनले अङ्ग्रेजी दवाईको सेवनबाट हुने नकारत्कमक प्रभावबाट जोगिन सहयोग पुगेको बताउनु भयो । अस्पतालमै प्रयोगशाला सेवा सुचारु भए अन्य निजी प्रयोगशालामा महगोमा जाँच गराउनु बाध्यताबाट जोगिने उहाँले बताउनु भयो ।

कल्याणपुर नगरपालिकाका धिरेन्द्र साहले प्रयोगशाला सेवा सञ्चालन नहुँदा निजी अस्पतालमा महंगो रकम तिरेर जाँच गराउनु परेको बताउनु भयो ।

अन्य

भिडियो