INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमताल फुटेपछि तिल गाउँ जोखिममा : स्थानीय त्रिपाल मुनि बस्न बाध्य

हुम्लाको हिमाल पारी भनेर चिनिदै आएको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँ बाढी पहिरो आएपछि गाउँ नै उच्च जोखिममा रहेको छ । जेठ १ गते रातिको समयमा गाउँ भन्दा माथि रहेका दुईवटा हिमतालहरू फुटेपछि गाउँ नै उच्च जोखिममा रहेको र हाल गाउँका स्थानीयहरू त्रिपाल मुनि बस्न बाध्य भएका छन् ।

बाढी पहिरोपछि अध्ययनका लागि पुगेको टोलीले हिमताल फुटेको फेला पारेको नाम्खा गाउँपालिका–६ का वडा सदस्य तेम्बा तुण्डुप लामाले बताउनुभयो । उहाँले आफूसहित चार जनाको टोली ४ हजार ७ सय मिटरभन्दा माथिको स्थानसम्म पुग्दा हिमताल फुटेको फेला पारेको बताउनुभयो ।

Photo 2025-05-16 Humla (2)

बाढी पहिरोले गाउँनै बग्ने अवस्था भएपछि गाउँका स्थानीयहरू पाँचदिनदेखि गाउँ नै छोडेर खुला आकास मुनि रात कटाउन बाध्य भएको वडा सदस्य लामाले बताउनुभयो ।

नाम्खा गाउँपालिका–६ को तिलगाउँ र कञ्जुम गुम्बाको बीच भएर बग्ने सेखाङलुग्वा खोलामा आकासे पानी नपरेरै एक्कासी बाढी आएको थियो । उक्त बाढी लगत्तै जोखिममा परेका १८ घरपरिवारका ३२ जना आफै सोही दिन सुरक्षित स्थानमा बसेका थिए । उनीहरु पहिरोले गाउँ नै बगाउने डरमा त्रिपालमा बस्दै आएका छन् । सो गाउँमा २१ महिला, नौ जना पुरुष र दुई बालक छन् ।

Photo 2025-05-16 Humla (4)

बिना वर्षा एक्कासी बाढी आउँदा त्रसित भएका स्थानीयले कारण खोज्दै खोलाको माथिल्लो भेगतिर जाँदा हिमताल फुटेको पत्ता पाएका थिए । लेदो सहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका पाँच वटा काठे पुल बगाएको छ । स्थानीय छे बुटी लामाको घर चर्किएको छ भने सोनाम साङ्गु लामाको घरको छतमा पहिरोले क्षति पु¥याएको छ ।

५ किलोवाट क्षमताको एउटा जलविद्युतको पावर हाउस बगाएको छ भने करिब ४ सय रोपनीमा सिचाइँ हुँदै आएको कुलो समेत बगाएको छ । बाढी पहिरोका कारण उवा, आलु लगायतको खेती बगाएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । राती एक्कासी बाढी आउदा तिल गाउँबाट गुम्बा आवतजावत गर्नेबाटो अवरोध भएको छ ।

Photo 2025-05-16 Humla (3)

सुख्खा बाढी पहिरो आएपछि हिल्सादेखि ६ घण्टा पैदल मार्ग हुँदै ७ जना नेपाल प्रहरी र ६ जना ससस्त्र प्रहरी बलको टोलि पहिरो ग्रसित क्षेत्रमा पुगेको डिएसपी शंखर पोखरेलले बताउनुभयो ।

पहिरोले पु¥याएको क्षतिको थप विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । गाउँ नजिकै दुई मिटर मात्रै रहेर पहिरो गएपछि पहिरोको असरले केही घरलाई क्षती बनाएकोले मानिसहरू गाउँ नै छोडेर खुला आकासमा बस्न बाध्य भएका हुन ।

Photo 2025-05-16 Humla (1)    Photo 2025-05-16 Humla (5)

अन्य

भिडियो