INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँमै पुगेर अशक्त भएका व्यक्तिलाई नागरिकता प्रदान

भौगोलिक हिसाबले हुम्ला जिल्ला निकै विकट मानिन्छ । तर पनि पहिलो पटक गाउँमै पुगेर हुम्लाका प्रमुख अधिकारी नारायण पाण्डेयले जेष्ठ नागरिक (अशक्त) व्यक्तिलाई नागरिकता प्रदान गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले नाम्खा गाउँपालिका–१ स्थित ताङगिन गाउँका ७५ वर्षीय छिङ सन्डुप तामाङलाई घरमै पुगेर नागरिकता (प्रतिलिपि) प्रदान गर्नु भएको हो । विगत आठ वर्षदेखि तामाङको स्वास्थ्यमा खराबी आएपछि नागरिकता पाउनबाट वञ्चित हुनु परेको आफन्त पाल्देन तामाङले बताउनु भयो ।

छिङ सन्डुपले विगत १५ वर्षदेखि सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका थिए। उनको नागरिकता तेलमा परेर कुनै अक्षर नदेखिएपछि वडा कार्यालयले उनको सामाजिक सुरक्षा भत्ता कटौती गर्दै आएको थियो ।

सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएको भन्दै यस अघिका प्रमुख जिल्ला अधिकारीहरूलाई अशक्त बनेका तामाङलाई नागरिकता उपलव्ध गराई दिने भन्दै पटक पटक अनुरोध गरे पनि सुनुवाई नभएपछि उनी भत्ताबाट बञ्चित हुनु परेको आफन्तको भनाइ छ ।

छिङ सन्डुप विगत आठ वर्षदेखि पक्षघात भएर शरीरको पूरै दव्रे भाग चल्ने तर दायाँ भाग नचल्ने भएपछि सदरमुकाम सिमकोट पुग्न नसकेकै कारण घरमै थला पर्नु भएको थियो । घरमै थला परेका तामाङका आफन्तले प्रमुख जिल्ला अधिकारी पाण्डेयलाई नागरिकता उपलव्ध गराई दिन अनुरोध गरेपछि  गाउँमै पुगेर तामाङको हातमै नागरिकता उपलव्ध गराउनुभयो ।

नाम्खा गाउँपालिका–१ को हेप्का गाउँसम्म यतिबेला यातायातका साधनहरू सञ्चालन हुने गर्दछन् । तर सडक निर्माण नगरेका कारण सोही वडाको ताङगिन गाउँमा भने सवारी साधन चलेका छ्रैनन् । हेप्का गाउँदेखि साढे दुई घण्टा लाग्ने गर्दछ ।

नागरिकता वितरणमा नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा पनि सोही ठाउँ पुग्नु भएको थियो । सेवा दिनकै लागि हुम्ला आएकोले जिल्लामा यस्ता समस्या देखा परे कुनै कसुर बाँकी नराखी गाउँ तथा टोलमा पुगेर नागरिकता प्रदान गर्न तयार भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनु भयो ।

अन्य

भिडियो