INSEC Online

📅 २०८३ जेष्ठ २१

सिके राउतको गाउँमा मतदान भएन

सप्तरीको महदेवा गाउँपालिका-२ स्थित आधारभूत विद्यालयको मतदान केन्द्रमा दिउँसो २ बजेसम्म पनि मतदान कार्य हुन सकेको छैन । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ५ सय ४५ पुरुष र ४ सय १५ महिला गरी ९ सय ६० मतदाता रहेका छन् ।

Photo20171207Saptari (1)

मतदान अधिकृत धनेश्वर साहका अनुसार सप्तरी क्षेत्र नं २ (१) अन्तर्गत पर्ने महदेवा गाउँपालिका-२ स्थित मतदान केन्द्रमा कोही पनि मतदाता र राजनीतिक दलका प्रतिनिधि आएनन् । प्रतिनिधि र मतदाताहरू नआएपछि बाकस सिल गरिएर राखिएको उनले बताए ।

त्यहाँ खटिएका आठ जना कर्मचारी, चार जना प्रहरी र १० जना म्यादी प्रहरी मतदाताको प्रतीक्षामा रहेका छन् । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. राउतको जन्मस्थान रहेको सो गाउँबाट मत नखसाएर निर्वाचन बहिष्कारको सन्देश दिन खोजिएको स्थानीयहरू बताउँछन् ।

Photo20171207Saptari1

राउतले कोठाभन्दा बाहिर मतदान गर्न आह्वान गरेपनि उनका गाउँलेहरूले कोठाभन्दा बाहिर दिएको मतको गणना नभएर बदर मतमा गणना हुने भएकोले स्पष्ट सन्देश दिन मतदान नै बहिष्कार गरेको बताए ।

सहभागी भएपनि हकअधिकार नपाइने भएकाले आफ्नो मत आफैसँग राखेको स्थानीयले बताएका छन् । उनीहरूले ‘मधेस देश नेपालबाट अलग्गै स्वराज हुनुपर्ने’ भनेर चुनाव बहिष्कार गरेको बताए ।

स्थानीय जयकरण अधिकारीले सिके राउत व्यक्ति नभई विचार बनिसकेको र सो विचार मन परेकाले मत खसाउनुको औचित्य नदेखेपछि परिवर्तनका लागि निर्वाचन बहिष्कार गरेको बताए ।

हलो जोतिरहेका काङ्ग्रेस कार्यकर्ता बालेश्वर माझीले गाउँलेहरूले निर्णय गरेर मतदानमा सहभागी नहुनु भनेकाले आफू पनि मतदानमा नगएर हलो जोतिरहेको बताए ।

इमान्दार उम्मेदवार र विश्वासलायक पार्टी कोही नभएकोले मतदान गर्नुको औचित्य नरहेको स्थानीय पुष्पराज माझीले बताए । उनले धेरै पटक मतदान गरेपनि उपलब्धि नदेखेपछि र सही पहिचान पाउन नसकेकोले मतदान नगरेको बताए । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लाका बाँकी सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्वक मतदान भइरहेको छ ।

अन्य

भिडियो