
क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयामा अवस्थित वन्डरल्यान्ड वाटर पार्कमा ०८२ जेठ ३ गते तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी र विद्यार्थी बीच झडप भएको छ ।
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरेर कृष्ण फाउन्डेसनले वन्डरल्यान्ड वाटर पार्कमा एक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको थियो । जसमा प्रवेश शुल्क मात्र १ सय रुपियाँ तोकिएको थियो ।
सस्तो प्रवेश शुल्कका कारण पार्कमा विद्यार्थीको चाप क्षमता भन्दा बढि थियो । सोही क्रममा विद्यार्थी र व्यवस्थापन समितिबीच विवाद हुँदा विद्यार्थीहरू तोडफोडमा उत्रिएका थिए ।
अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रहरी कार्यालय, धनुषाबाट प्रहरी टोली घटनास्थल पुगेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड अश्रु गयास प्रहार गरेको थियो । सोही क्रममा पाँच जना प्रहरी घाइते भएको डिएसपी बरुण बहादुर सिंहले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, घाइते प्रहरीहरूको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भयो ।
विद्यार्थीहरूको चाप बढी भएको कारण नुहाउने क्रममा समस्या भएपछि विद्यार्थीहरू एक्कासी तोडफोड गर्न थालेको र जस कारण २० लाख रुपियाँ बराबरको क्षति भएको वाटर पार्कका सञ्चालक गुड्डु जैनले बताउनु भयो । साथै यस घटना र क्षतिको जिम्मा कृष्ण फाउन्डेसनले लिनुपर्ने जैनले बताउनु भयो ।
