INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित निलम्बित

पृथ्वीनारायण क्याम्पसमा अध्यनरत विद्यार्थीमाथि जातीय विभेद गरेको आरोपमा उपप्राध्यापक डा. देवीलाल शर्मा निलम्बित भएका छन् । व्यवस्थापन संकाय अन्तर्गत एमबिए फाइनान्स विषयको शैक्षिक भ्रमणमा सहभागी विद्यार्थीलाई जातीय विभेद गरेको भन्दै उपप्राध्यापक शर्मालाई जिम्मेवारीबाट हटाइएको हो ।

क्याम्पस प्रमुख प्रा. डा. हरिप्रसाद पाठकले शर्मालाई पठाएको पत्रमा भनिएको छ – ‘त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ४, दफा १९ बमोजिम ०८२ वैशाख २६ गतेको पत्रानुसार यस क्याम्पस अन्तर्गत व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख पदमा नियुक्ति गरिएकोमा विशेष परिस्थितिका कारण तपाईंलाई उक्त पदको जिम्मेवारीबाट हटाइएको व्यहोरा जानकारी गराइन्छ ।’

घटना शैक्षिक अवलोकन भ्रमणका क्रममा भएको हो । विषय शिक्षक डा. शर्मा, राजेन्द्र सुवेदी र धुर्वकुमार बुढाथोकीको नेतृत्वमा गएको उक्त भ्रमणमा उपप्राध्यापक शर्माले विद्यार्थी अमन परियारमाथि जातीय रुपमा अपमान गरेका थिए । ‘दमैको लेडो, जात नभएको, दमैले जात जनायो, विशाल दमैको सङ्गतले दमैनै भयो, तँ दमै के गर्न सक्छस्, गर’ जस्ता अभद्र शब्द प्रयोग गरिएको पीडित परियारले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित विद्यार्थीले आपत्ति जनाउँदा शर्माले थप धम्कीसमेत दिएका थिए । ‘शैक्षिक प्रमाणपत्र पोखरामा नबिक्ने, पोखराबाट नै गायब गर्छु, लोकसेवाको कपी मैले जाँच्ने हो, तलाई जान्या छु, एनक्यु (नन ग्रेड) लगाएर तलाईं कहीँ न कतैको बनाइदिन्छु’ भन्ने धम्की दिइएको परियारको भनाइ छ ।

घटनापछि दलित विद्यार्थी सङ्घसहित विभिन्न पक्षले विरोध जनाएका छन् । दलित विद्यार्थी सङ्घका अध्यक्ष अमृत विकले विज्ञप्ति जारी गर्दै भनेका छन् – ‘पटक–पटक क्याम्पस प्रशासन तथा कर्मचारीद्वारा विद्यार्थीप्रति गरिने जातीय अपहेलनाका घटनामा हामी चुप बस्दैनौँ । क्याम्पस जस्तो शैक्षिक स्थलमा प्राध्यापकहरूबाट नै जातीय विभेद हुनु आपत्तिजनक हो । यस्तो घटना पृथ्वीनारायण क्याम्पसमा पहिलो होइन ।’ विरोध चुलिएपछि क्याम्पस प्रशासनले डा. शर्मालाई जिम्मेवारीबाट हटाएको हो ।

अन्य

भिडियो