विभिन्न पेशागत माग राख्दै नेपाल शिक्षक महासङ्घले ०८१ चैत २० गतेदेखि आह्वान गरेको शैक्षिक आन्दोलनका कारण धनकुटा नगरपालिका-५ मा रहेको गोकुण्डेश्वर बालमन्दिर माध्यामिक विद्यालयको पठनपाठन २९ दिनसम्म प्रभावित भयो ।
आन्दोलनरत शिक्षकसँग सरकारले ०८२ वैशाख १७ गते सहमति गरेपछि सामुदायिक विद्यालयको पठनपाठन सुरू भइसकेको भएपनि गोकुण्डेश्वर बालमन्दिर माध्यामिक विद्यालयको पठनपाठन पुन प्रभावित भएको छ ।

बालमन्दिर माध्यमिक विद्यालय धनकुटाको तल्लो टुँडिखेलको आडैमा छ । धनकुटाको तल्लो टुँडिखेलमा ०८२ वैशाख ५ गतेदेखि २० गतेसम्म भलिबल उत्सव तथा रमाइलो मेला सम्पन्न भयो । वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्मका लागि चौथो औद्योथिक प्रदर्शनी तथा धनकुटा पर्यटन महोत्सव सञ्चालन भइरहेको छ । जसका कारण गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालयमा पठनपाठन तथा कक्षा १२ को परीक्षा सञ्चालन गर्न समेत सकस भएको विद्यालय प्रशासनले जनाएको छ ।
तल्लो टुँडिखेल गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय खेलमैदान कै रूपमा जस्तै रहेको छ । विद्यालय परिसरमै जस्तो मेला सञ्चालन हुँदा पठनपाठनमा समस्या र कक्षा १२ को परीक्षा शान्त वातावरणमा गर्न नपाइएको विद्यालयले जनाएको छ । जसले गर्दा विद्यार्थी मर्कामा परेका छन् ।
मेलाका कारण राति १० बजेसम्म धनकुटा बजार थर्किने गरी डिजे बजाउँदा विद्यार्थीलाई परीक्षाको तयारी गर्न तथा बिहान विद्यार्थी परीक्षा सहभागी भएपनि दिनभर तथा साँझको समयमा मेलामा जाँदा समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक दामोदर मिश्रले बताउनु भयो । उहाँले विद्यालयनजिकै मेला आयोजना नगर भन्न नसक्ने अवस्था रहेको र टुँडिखेल आफ्नो स्वामित्वमा नरहेकोले सहेर बस्नुको विकल्प नभएको बताउनु भयो । मिश्रले यसको बारेमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनु भयो । मेला लगाउने पक्षले विद्यालयसँग स्वीकृति नलिएको प्रधानाध्यापक मिश्रको भनाइ छ ।
विद्यालयनजिकै मेलाआयोजनागरिँदात्यसको प्रत्यक्ष असर विद्यार्थीमा परेको कक्षा१२ को परिक्षादिइरहेकाविद्यार्थी करुण थापाले बताउनुभयो । उहाँले शिक्षक, अभिभावक, सरकार र सरोकारवाला कै मिलेमतोमा विद्यालय बन्द गर्नुपर्ने बेला आउन लागेको गुनासो गर्नुभयो ।
मेलाको कारणले पठनपाठनमा समस्या भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मोहन राईले बताउनु भयो । उहाँले धनकुटाका सरोकारवाला निकायले यसमा चासो दिनुपर्ने बताउनु भयो । उहाँले महिना दिनसम्म हुने मेलाले विद्यार्थीमा असर गर्ने भएकाले त्यस किसिमका मेला आयोजना गर्न नहुने राईले बताउनु भयो ।
यस विषयमा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले मेलाको गुनासो कतै नआएको र प्रदेश सरकारले पर्यटन वर्ष मनाइरहेको हुँदा धनकुटामा पर्यटन उत्सव सञ्चालनको अनुमति दिइएको बताउनु भयो । उहाँले विद्यार्थीलाई समस्या हुने भएकाले साउण्ड सिष्टममा नियन्त्रण गरिएको बताउनु भएको छ ।