नेकपा (एमाले) धनुषा जिल्लाको आठौँ अधिवेशनमा दुई पक्ष बीच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर निवासी नेकपा (एमाले)का जिल्ला सदस्य ६२ वर्षीय सत्यनारायण महासेठ र मिथिला विहारी नगरपालिका वडा नं. १० ठेराका ६० वर्षीय महेश दास रहेका छन् ।
उनीहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भयो । दुवै जनाको टाउकोमा चोट लागेको छ ।
एमालेको जिल्ला अधिवेशन जनकपुरधामको महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा वैशाख २० गतेदेखि सुरु भएको थियो । अधिवेशन सर्वसम्मतिको प्रयास नभएपछि पदाधिकारी चयन निर्वाचन प्रक्रियाबाट सुरु गरिएको थियो ।
वैशाख २३ गते बिहान ८ बजेदेखि मतदानको कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेपनि उम्मेदवारको अन्तिम नामावलीकाे विषयलाई लिएर विवाद भएपछि मतदान सुरु हुन सकेन ।
अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको र निर्वाचन समितिमाथि केही नेता कार्यकर्ताले कुर्सी प्रहार गरी आक्रमण गरेको एमालेका नेता दिपेन ठाकुरले जानकारी दिनु भयो ।