२०७७ जेठ १० गते अन्तर्जातीय प्रेमको विषय बनाएर मारिएका २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्यामा संलग्नहरूलाई कानुनी कार्वाहीको माग राख्दै उच्च अदालत सुर्खेतमा दलित अधिकारकर्मी र मृतकका आफन्तहरूले धर्ना दिएका छन् । ०८२ वैशाख १२ गते ‘समाजले नवराजलाहरूलाई मार्यो, अदालतले न्याय नमारोस्’ ‘नवराजहरुका हत्यारा छोड्न पाइँदैन’ लगायतका प्ले कार्डसहित धर्ना दिएका छन् । नवराजसँगै गएका २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही सो घटनामा मारिएका थिए । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो । ०८० मङ्सिर १९ गते जिल्ला अदालत रुकुम पश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
त्यस्तै नवराजकी प्रेमीका, उनकी आमा र दाईलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । आठ जनाले भने सफाइ पाएका थिए । जिल्ला अदालतको फैसलाविरुद्ध रुकुम पश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुबा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गर्नुभएको थियो । ०८२ वैशाख ९ गते उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ दुई दिनमा सकिएको थियो । न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ भएको उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । अदालतले वैशाख १५ गते उक्त मुद्दाको पेसी तोकेको थियो । दुबै पक्षका वकिलहरूको वहस नसकिएका कारण वैशाख १५ गते पनि हेर्दाहेर्दैमा रहेको उच्च अदालत सुर्खेतका प्रवक्ता उपरजिष्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिनुभयो । ‘मुद्दामाथि सुनुवाई भइरहेको छ । दुबै पक्षका वकिल र सरकारी वकिलको वहसका कारण वैशाख १५ गते पनि वहस सकिएन । एक–दुई दिनमा वहस सकिनेछ’ – उहाँले भन्नुभयो । १५ गते पनि उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ भइरहेको छ ।
नवराजकी आमा उर्मिला विश्वकर्माले छोराको हत्यामा संलग्नहरूलाई कुनै पनि वहानामा उन्मिुक्ति दिन नहुने बताउनु भयो । ‘छोराको हत्यामा संलग्नहरूलाई कुनै पनि हालतमा अदालतले छोड्नुहुन्न । रुकुम अदालतले गरेको फैसला अनुसार उच्चमा पनि त्यसको कार्यान्वयन होस् । छोरो मरे पनि न्याय नमरोस्’ – उहाँले भन्नुभयो । हत्या भएको दिनदेखि नै विभिन्न व्यक्ति र राजनीतिक दलले गरेको चलखेलले गरिरहेको लोकेन्द्रकी आमा लक्ष्मी सुनारले बताउनु भयो । ‘रुकुम अदालतले न्याय दिएको थियो । सोही अनुसार उच्चले पनि हाम्रो न्याय नमारोस् । ठूला–ठूला मान्छेहरू केही मान्छेहरूलाई बचाउन लागिरहेका छन् । तर कुनै हालतले न्याय नमरोस्’ – उहाँले भन्नुभयो ।
यस घटनाको सुरुदेखि नै खबरदारी गरिरहेका दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले सोती नरसंहारलाई कुनै पनि हालतमा सामान्य रुपमा हेरियो भने त्यस विरुद्ध सम्पूर्ण दलित समुदाय सडकमा आउने बताउनु भयो । ‘अहिले उच्च अदालतमा वहस भएको छ । हत्यामा संलग्नहरूका पक्षमा वकिलका लाइनका लाइन छन् । तर नवराजहरुका पक्षमा बोल्ने वकिलपाउनै मुस्किल छ । सम्मानित अदालतले कुनै पनि हालतमा न्याय मर्न दिने छैन’ – उहाँले भन्नुभयो ।
घटनालगत्तै इन्सेकले गरेको स्थलगत अनुगमन प्रतिवेदनमा ०७७ जेठ १० गते साँझ साढे ६ बजेको समयमा सोतीका स्थानीयहरूले भेरी नगरपालिका–४, रानागाउँ निवासी २१ वर्षीय नवराज विक, चौरजहारी नपा–१ का २० वर्षीय टिकाराम सुनार, भेरी नगरपालिका–४ निवासी २१ वर्षीय सन्जु विक, भेरी नगरपालिका–४, रानागाउँ निवासी १७ वर्षीय गणेश विएम, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार र गोविन्द शाहीको सामूहिक हत्या गरेको उल्लेख छ । प्रतिवेदनमा उक्त घटना पूर्वयोजना अनुसार भएको देखिन्छ उल्लेख छ ।
इन्सेकले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नु होला

