INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालमा नि:शुल्क वितरण हुने औषधी १२ प्रकारका मात्र

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका जिल्ला अस्पतालमा ९८ प्रकारका औषधी वितरण गर्ने भनेपनि जिल्ला अस्पताल, खोटाङमा १२ प्रकारका औषधी मात्र वितरण हुने गरेको पाइएको छ ।

सरकारले वितरण गर्ने निशुल्क ९८ किसिमका औषधी अन्तर्गत गर्भवतीले खानुपर्ने आइरन चक्की समेत सकिएको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारले ९८ प्रकारका औषधी वितरण गर्ने भनेपनि जिल्ला अस्पतालमा वैशाखको पहिलो साताबाटै चाइरन चक्कीसमेत अभाव भएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेण्ट रूपेश सङग्रौलाले बताउनु भयो । सरकारले जिल्ला अस्पतालहरूमा पठाउने नि:शुल्क औषधी नपठाउँदा गर्भजाँच गराउन आउने गर्भवतीहरूलाई आइरन चक्की समेत दिन नसकिएको निमित्त मेसु डाक्टर सङ्ग्रौलाले बताउनु भयो ।  उहाँले सरकारले नि:शुल्क दिने औषधीमध्ये जिल्ला अस्पतालमा १२ प्रकारका मात्रै औषधी आउने गरेको बताउनु भयो ।

‘अस्पताललाई नि:शुल्क औषधी खरिदका लागि राज्यले ५ लाख रूपियाँ बजेट विनियोजन गरेको थियो उक्त बजेटबाट ९८ प्रकारका औषधी र औषधीजन्य सामग्रीहरु खरिद गरेर वर्षदिनलाई व्यवस्थापन गर्न नसकिने रहेछ । सङ्घीय स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्थापन शाखा, प्रदेश सरकार आपूर्ति केन्द्रले व्यवस्थापन गरेर औषधी पठाउने भनिए पनि समयमा टेण्डर नहुनु र श्रोत थोरै भएकाले सरकारी अस्पतालमा आउनुपर्ने औषधी समयमा आएको छैन।’ डाक्टर सङ्ग्रौलाले भन्नुभयो ।

जिल्ला अस्पतालको विरामी अभिलेखका आधारमा जिल्ला अस्पतालमा एक वर्ष ओपीडीमा ५० हजार र आकस्मिक कक्षमा १० हजार बढी बिरामी आउने गरेको देखिन्छ । आइरन चक्की, रेबिज भ्याक्सिन, सुगर, प्रेसरसहितको नि:शुल्क दिनुपर्ने औषधी सरकारले समयमा आपूर्ति नगर्दा अस्पतालले किनेर दिन सक्ने अवस्था नरहेको डाक्टर सङग्रौलाले बताउनु भयो ।

अस्पतालमा नि:शुल्क वितरण गरिने औषधि सकिएको जानकारी स्थानीय तह, स्वास्थ्य कार्यालय, प्रदेशको आपूर्ति शाखासँग समन्वय गरिरहेका छौ । त्यहाँ पनि विविध समस्याहरु रहेछ । टेण्डर प्रक्रियामा गएर औषधि खरीद गर्नुपर्ने कुरामा मुद्दा पर्ने, समयमा औषधी नआउने समस्या भएको डाक्टर सङग्रौलाको भनाइ छ । जिल्ला अस्पतालबाट नि:शुल्क वितरण गर्नुपर्ने औषधीहरु उपलब्ध नहुँदा नियमित सेवा प्रवाहमै समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा १ मा प्रत्येक नेपालीलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

अन्य

भिडियो