जातीय विभेदका आरोपित विरुद्ध ०८२ वैशाख ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता भएको छ । दैलेख जिल्ला आठबिस नगरपालिका-६ घरभइ हाल वीरेन्द्रनगर नगरपालिका-७ बस्दै आएका ३९ वर्षीय शेरबहादुर थापाविरुद्ध राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल कर्णाली प्रदेशले जाहेरी दर्ता गरेकाे हाे ।
०८२ वैशाख १० गते बेलुका बलबहादुर थापा नामक फेसबुक अकाउन्टमा ‘पिठिउ पछि कुरा काट्ने काट्दै गर तर आफै गाउँमा बसेर समाजको काम गर मन्दिरको भगवान हैन तिमिहरूलाई पुज्छु’ भन्ने स्टाटसमा आरोपित थापाले दलित समुदायमाथि जातीय विभेदजन्य शब्द ‘डुमलाई नपाल्नु’ भन्ने कमेन्ट गरेका थिए । साेही कमेन्टलाई लिएर राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले जातीय विभेद विरुद्धको उजुरी दिएकाे हाे ।
जातीय विभेद विरुद्धको जाहेरी दर्ता भएसँगै आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र बिर विश्वकर्माले जानकारी दिनुभयाे ।