INSEC Online

📅 २०८३ जेष्ठ २१

भिड नियन्त्रणका लागि  हवाइ फायर र अश्रु ग्यास प्रहार, डिएसपी घाइते

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएपछि सुन्दरहरैँचा नगरपालिका-१ हरैँचा बजारमा प्रहरीले भिड नियन्त्रणका लागि वैशाख १२ गते अश्रु ग्याससहित हवाइ फायर गरेको छ ।

घटनामा जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशी घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयले ट्रिपरमा आगजनीको प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा जम्मा भएको भिडले ढुङ्गामुढा गर्दा डिएसपी जोशी भएको जिल्ला प्रहरी कार्यालयका एसपी नारायणप्रसाद चिमोरियाले बताउनु भयो । टाउकामा चोट लागेका घाइते जोशीको विराट नर्सिङ होममा उपचार गरिएको छ ।

दुर्घटनामा मृत्यु भएका सुनसरीको दुहबी नगरपालिका-९ का ४० वर्षीय महमद हासिम मियाँको शव बाटोमा राखेर स्थानीयले प्रर्दशन गरेपछि प्रहरीले बाटो खुलाउने प्रयास गर्दा प्रहरीमाथि ढुङ्गामुढा भएको प्रहरीले जनाएको छ ।

५/६ सय जनाको भिडले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि भिड नियन्त्रणका लागि प्रहरीले नौ राउण्ड हवाइ फायर र आठ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीले बताउनु भयो ।

प्रहरीले टिपर चालक बारा घर भइ मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ मा बस्दै आएका २५ वर्षीय पवन योन्जनलाई गिरफ्तार गरेको छ ।

विराटनगर-विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १-०२-०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ०८२ वैशाख १२ गते ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा सुनसरीको दुहबी नगरपालिका-९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको थियो ।

अन्य

भिडियो