देशका विभिन्न जिल्लाबाट काठमाडौँ आएका सहकारी तथा लघुवित्त पीडितले ०८१ चैत १७ गतेदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको भए पनि सरकारले उनीहरूको माग सम्बोधनका लागि पहल नगरेको पीडितहरूले बताएका छन् ।
चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने भनी सहकारी मन्त्रालयले ०८१ चैत ५ गते गरेको बाचा पूरा नभएको भन्दै पीडितहरूले काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।
पीडितहरूले सधैँजसो कालीमाटी, गोङ्गबु, नयाँ बसपार्क नजिकको बिजी मल, सिफल चौर, शंखपार्क, जावलाखेल हुँदै रत्नपार्कस्थित शान्तिबाटिकासम्म विरोध प्रदर्शन गर्ने गर्दै आइरहेका छन् । विरोध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा उनीहरुमाथि प्रहरीले लाठी चार्ज, धरपकड र गिरफ्तारी समेत गरेको थियो । तर, अहिले सहकारी पीडितहरूले शान्तिपूर्ण र्याली र धर्ना दिँदै विरोध प्रदर्शनको स्वरुप परिवर्तन गर्दै आएका छन् ।
काठमाडौँ उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता, व्यवसायी र सर्वसाधारणहरूले महिनौँदेखि चरणबद्ध आन्दोलन गर्दै आए पनि सरकारले पीडितहरूको माग बारे केही पहल नगरेको सहकारी पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले बताउनु भयो । उहाँले लघुवित्त पीडितको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका मागहरू रहेको जानकारी दिनु भयो ।
