INSEC Online

📅 २०८३ जेष्ठ २१

विभिन्न स्थानमा बम विष्फोट

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार लक्षित तथा मतदाता आतङ्कित बनाउन विभिन्न ठाउँमा बम विष्फोट भएका समाचारहरू प्राप्त भएका छन् ।

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बाँसगढी नपा-५ बाँसगढी निवासी नयाँ शक्ति पार्टीका जिल्ला संयोजक तथा बर्दिया क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार केशव पौडेलको घर नजिक मङ्सिर १८ गते साँझ बम विष्फोट भएको छ ।

विष्फोटबाट कुनै क्षति भएको छैन । केशव पौडेल उम्मेदवार भएकोले उनकै घरलाई लक्षित गरेर विष्फोट गराइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । कसले र किन विष्फोट गराएको हो भन्ने विषयमा प्रहरीले केही प्रतिक्रिया दिएको छैन । विष्फोट घटनामा संलग्नको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट सदस्य पदका उम्मेदवार पौडेलको घर अगाडि तर्साउने उद्धेश्यले बम पड्काइएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । विष्फोटबाट मानवीय क्षति नभएको प्रजिअ भट्टराईले बताए ।

इन्सेक कैलाली जिल्ला प्रतिनिधि रबिना चौधरीका अनुसार कैलाली क्षेत्र नम्बर-.४ बाट प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टको घर नजिकै मङ्सिर १९ गते बिहान ४ बजेतिर बम विस्फोट भएको छ ।

भट्टको घरबाट ३ सय मिटर टाढा रहेको नाला किनारमा बम विष्फोट भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

बम विष्फोटबाट कुनै किसिमको मानवीय तथा भौतिक क्षति नभएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले बताए ।

इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार क्षिरेश्वर जनता उमाविको कम्पाउण्डमा आज शक्तिशाली बम विष्फोट भएको छ ।

मानवीय क्षती नभएपनि बम विष्फोटको आवाज ठूलो रहेको स्थानीयले बताए । क्षिरेश्वर नगरपालिकाको मतदानस्थल रहेको विद्यालयमा बम विष्फोटले मतदाता त्रसित भएको छ ।

बम विष्फोट भएको ठाउँबाट करिब २५/३० मिटर मानिसहरू उभिएको थियो । बम विष्फोटको कारण विद्यालयको कम्पाण्ड वालमा समान्य क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर नरेशकुमार सिंहले बताए ।

इन्सेक सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालका अनुसार धरान उमनपा-१७ ज्वालामुखी मावि मतदान केन्द्रमा मङ्सिर १९ गते मध्यान्ह बम विष्फोट भएको छ ।

मोटरसाइकलमा चढेर आएका दुई जनाले बम फ्याँकेर भागे लगत्तै विष्फोट भएको र विष्फोटबाट कुनै पनि क्षति नभएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।

बम विष्फोट गराउनेको परिचय नखुलेको र उनीहरूको खोजी भइरहेको उनले जनाकारी दिए । बम फ्यालेर भाग्ने मोटरसाइकलको नम्बर समेत नखुलेकोले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

चुनावलाई लक्षित गरेर सुनसरीका विभिन्न ठाउँमा पटकपटक बम विष्फोट भएपछि यहाँको सुरक्षा व्यवस्था कडा परिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीले बताए । सुनसरीका सबै मतदान केन्द्रलाई सम्वेदनशील केन्द्र मानेर सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

अन्य

भिडियो