विभिन्न बहानामा लोकतन्त्र विरोधि गतिविधि भइरहेको भन्दै अहिलेको अवस्थामा लोकतन्त्रको अन्त्य नहुने र लोकतन्त्रको रक्षा गर्न नागरिक समाज सक्षम भएको राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा राष्ट्रपतिका राजनीतिक तथा मानव अधिकार विज्ञ सुशील प्याकुरेलले बताउनु भएको छ ।
गैरसरकारी संस्था महासङ्घ केन्द्रीय कार्य समितिको आयोजनामा नागरिक समाज समाजको उपस्थितिमा ०८२ वैशाख ११ गते ललितपुरको ललितमण्डमा लोकतन्त्र दिवसको अवसरमा आयोजित सडक सम्वाद तथा दीप प्रज्वलन कार्यक्रममा प्याकुरेलले उक्त कुरा बताउनु भएको हो ।
प्याकुरेलले लोकतन्त्र प्राप्तिका लागि लडेका जनताले यसको विकल्पमा अन्य कुनै तन्त्रको लागि भन्दा पनि लोकतन्त्रकै सुदृढिकरणको आशा राखेको बताउनु भयो ।
उहाँले देशमा राजनीतिक नेतृत्व लिन आजको युवा पुस्ता अगाडि आउनु पर्ने बताउँदै लोकतन्त्रका लागि लडेको पहिलो पुस्ताले अझै लोकतन्त्र रक्षाका लागि खबरदारी गर्न पछि नहट्ने उल्लेख गर्नु भयो ।
गैसस महासङ्घका अध्यक्ष अर्जुन भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाजका अगुवा चरण प्रसाईँ सुबोध प्याकुरेल, जीतराम लामा, विदुर सुवेदी, मीनबहादुर शाही, बाबुराम अर्याल, नरेन खतिवडा, पार्वता गौतम, शिशिर खनाल, भक्त विश्वकर्मा, त्रिलोकचन्द्र विश्वास, पवन गौतमलगायतले लोकतन्त्र रक्षाका लागि नागरिक समाजको भूमिका र आफ्नो दायित्व र राज्यको कर्तव्य बारे मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा दीप प्रज्वलन गरी १९ औँ लोकतन्त्र दिवसमा आयोजित कार्यक्रमको समापन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी रामेछाप, रामेछाप उद्योग वाणिज्य सङ्घ, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल रामेछाप, नेपाल राष्ट्रिय दलित कल्याण सङ्घ लगायतका सङ्घ संस्थाको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
यसैबीच गैसस महासङ्घले एक प्रेस विज्ञप्ति प्रकाशन गरी लोकतन्त्र, नागरिक स्वतन्त्रता र मानव अधिकारको पक्षमा २०६२/०६३ को आन्दोलनपछि प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान महत्वपूर्ण कोशेढुँगाको रुपमा रहेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा समुदायस्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सामाजिक सङ्घ संस्थाले गरेको योगदानको उचित मूल्याङ्कन गर्दै नागारिक समाज र सङ्घसंस्थामैत्री वातावरण निरमाणका लागि र लोकतन्त्रप्रति प्रतिबध्द हुन सम्पूर्ण राजनीतिक दल, सरकार र सरोकारवालाहरू समक्ष आग्रह गरिएको छ ।
साथै लोकतन्त्रको विकल्प केवल उन्नत र सुदृढ लोकतन्त्र हो भन्ने दृढ विश्वासका साथ लोकतन्त्रको सवलीकरण गर्न, थप सुदृढ बनाउन, राजनीतिक दलले आफ्ना प्रतिबध्दताको कार्यान्वयन गर्न, गल्ती र कमजोरीहरू सच्याउनका साथै सुशासन, जवाफदेहिता, प्रभावकारी सेवा प्रवाह, नागरिक र सामाजिक सङ्घसंस्थाको साझेदारी र अपनत्वको माध्यमबाट लोकतन्त्रको प्रभावकारिता र लोकतन्त्रप्रतिको जनविश्वास बलियो बनाउन जरुरी रहेको स्मरण गरिएको छ ।
यसैगरी रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार मन्थलीमा १९ औँ लोकतन्त्र दिवसको अवसरमा नागरिक संस्थाले दीप प्रज्वलन गरी मनाएका छन् । जिल्लाका नागरिक संस्थाले वैशाख ११ गते साँझ दीप प्रज्वलन गरी दिवस मनाएका हुन् ।
मन्थलीस्थित देवकोटा चोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गैरसरकारी संस्था महासङ्घ रामेछाप, नेपाल पत्रकार महासङ्घ रामेछाप, नेपाल रेडक्रस सोसाइटी रामेछाप, रामेछाप उद्योग वाणिज्य सङ्घ, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल रामेछाप, नेपाल राष्ट्रिय दलित कल्याण सङ्घ लगायतका सङ्घ संस्थाको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

२०६३ साल बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना गरेको दिनको खुसीयालीमा लोकतन्त्र दिवस मनाउने गरिन्छ । पुनर्स्थापित प्रतिनिधि सभाले संविधान सभा निर्वाचन गर्ने र संविधान सभाकोबाट गणतन्त्र घोषणा गर्ने निर्णय गरेको थियो । त्यसकै जगमा नेपालमा निरङ्कुश राजतन्त्र अन्त भएको थियो ।
यसैगरी इन्सेक धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्ला सदरमुकाम धादिङबेसीमा १९ औं लोकतन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।
नागरिक समाज र राजनीतिक दलको बलमा २०६१/६२ जनआन्दोलन सफल भएको दिनको खुसीयालीमा लोकतन्त्र दिवसको रूपमा मनाउँदै आएको छ । सोही अवसरमा पुछार बजार एमाले चोकमा नागरिक समाज, पत्रकार, तथा विभिन्न सरोकारवाला पक्षहरूले दीप प्रज्वलन गरेका हुन् । संविधान सभा सदस्य गुरु बुर्लाकोटीले लोकतन्त्र जनताको विजयको दिवस भएको स्मरण गराउँदै यसको संरक्षण र सुदृढीकरणमा सबैले भूमिका खेल्नुपर्ने बताए । `लोकतन्त्रको सुन्दरता सबैको आवाज सुन्ने र समेट्ने प्रक्रियामा रहेको छ । लोकतन्त्रको कमी कमजोरीलाई सुधार गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउननु पर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सीताराम अधिकारीले राजनितिक दल र नागरिक समाजको ठूलो योगदानले लोकतन्त्र ल्याउन सकिएको बताउनुभयो। `पत्रकार पनि नागरिक समाज हो । लोकतन्त्र ल्याउन पत्रकारिताको क्षेत्रमा उल्लेखनिय योगदान गरिएको छ । हामी पनि लोकतन्त्रको पक्षधर हो, पत्रकार सँधै जनताको पक्षमा बोल्ने उहाँको भनाई छ ।
गैर सरकारी संस्था महासङ्घ धादिङका कार्यवाहक अध्यक्ष तोला कुमारी पाठकले लोकतन्त्र दिवसलाई उज्यालो दिनको सुरुवातको सङ्ज्ञा दिनुभयो । निरङ्कुशता पराजय भएको स्मरण गर्दै लोकतन्त्र दिवस मनाउँन पाउनु, नेपाली जनताको स्वतन्त्रता र आजको उपलब्धि लोकतन्त्रको उपज रहेको बताउनु भयो ।
दीप प्रज्वलन कार्यक्रमको अवसरमा वक्ताहरूले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । उनीहरुले यो सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए।
मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार लोकतन्त्र दिवसको अवसरमा हेटौँडामा लोकतन्त्रको सवलीकरणमा नागरिक समाजको भूमिका र चुनौति विषयक अन्तरक्रियाका साथै दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
नागरिक समाजको सहभागितामा गठन भएका विभिन्न सङ्घ, संस्थाका प्रतिनिधिको उपस्थितिमा गैरसरकारी संस्था (गैसस) महासङ्घ बागमती प्रदेशस्तरीय नागरिक भवनको सभाकक्षमा भएको अन्तरक्रियामा सहभागीले नागरिक समाजको भूमिका र सक्रियता नगन्य भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नागरिक समाजले पहरेदारीको भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो हुन नसकेको भनी चिन्ता व्यक्त गरिएको हो । नागरिक समाज भनिए पनि विभिन्न दलमा आवद्ध भएर पूर्वाग्रहका आधारमा बहस पैरवी हुनु, कतिपय सार्वजनिक मुद्दालाई नागरिक समाजले देखे–नदेखे गर्नु समस्याको विषय भएको सहभागीको भनाइ थियो । राज्यलाई जिम्मेवार र जवाफदेही बनाउन नागरिक समाजले प्रश्न उठाइरहनुपर्ने, निगरानी गरिरहनुपर्नेमा पनि सहभागीले जोड दिएका छन् ।
अन्तरक्रियामा वन विज्ञान अध्ययन संस्थानअन्तर्गतको हेटौँडा क्याम्पसका प्राध्यापक राजबाबु पहाडीले नागरिक समाजको अवधारणा, भूमिका र जिम्मेवारी तथा चुनौतिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले राज्यले लोकतन्त्र दिवस नै बिर्सनु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो । उहाँले नागरिक समाज स्थायी प्रतिपक्षीको भूमिकामा रहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, राष्ट्रिय मानवअधिकार आयोगको हेटौँडास्थित कार्यालयका प्रमुख पवन कुमार भट्ट, गैसस महासङ्घको केन्द्रीय समिति सचिव बुद्धशरण लामा, नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, महासङ्घ मकवानपुरकी अध्यक्ष रमिला सापकोटासहित विभिन्न सङ्घ, संस्थाका प्रतिनिधिले लोकतन्त्रको लागि नागरिक समाजको भूमिका र राज्यको दायित्वबारे धारणा राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका गैसस महासङ्घ बागमती प्रदेश समितिका कार्यवाहक अध्यक्ष कमलकुमार विश्वकर्माले नागरिक समाजलाई सशक्त र बलियो बनाउन निरन्तर बहसको आवश्यकता औँल्याउनुभयो ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा चितवनको आयोजनामा विभिन्न सङ्घ संस्था र नागरिक समाजको अगुवाईमा १९अेेाे लोकतन्त्र दिवससम्पन्न भयो । कार्यक्रममा नागरिक समाजका अगुवाहरूले लोकतन्त्र को विकल्प अरु कुनै हुन नसक्ने बताएका छन् । लोकतन्त्रको स्मरणमा आयोजित दिप प्रज्वलन कार्यक्रममा गैसस महासङ्घ चितवनकी अध्यक्ष पार्वति घिमिरेल लोकतन्त्र रक्षाका लागि नागरिक समाजले खबरदारी गर्नु पर्ने बताउनु भयो ।


