हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैङ्कसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै बगनासकाली गाउँपालिकाले गाउँघरमै पुगेर भत्ता वितरण गर्न थालेको छ । यसबाट लाभग्राहीहरू खुशी भएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता पनि गाउँपालिकाले नेपाल बैङ्क सँगको सहकार्यमा वडावडामै पुगेर वितरण गरिरहेको छ । पालिका भित्रका ३ हजार १ सय ८७ जना लाभग्राहीले वडा कार्यालयबाटै भत्ता बुझ्न पाउनेछन् । तेस्रो त्रैमासिकमा ३ करोड, १९ लाख, ९८ हजार ९ सय ४५ रुपियाँ नेपाल बैङ्कमा रहेको लाभग्राहीको खातामा जम्मा गरिएको र बैङ्कसम्म पुग्न नसक्नेहरूलाई गाउँमै पुगेर भत्ता वितरण गरिएको गाउँपालिकाका आइएमएस अपरेटर भोजराज भट्टराइले बताउनु भयो ।
जेष्ठ नागरिक ६८ वर्ष माथिका १ हजार ९ सय ९५ जनाको लागि २ करोड ३६ लाख ८२ हजार २ सय ९४ रुपियाँ, ज्येष्ठ नागरिक दलित १ सय ४४ जनाको लागि ११ लाख ४१ हजार १ सय चालिस रुपियाँ लाभग्राहीको खातामा जम्मा गरिसकिएको छ । बगनासकाली गाउँपालिका–७, खानीगाउँका ८१ वर्षीय गजवीर बोटेले यसरी गाउँघरमै पुगेर भत्ता बितरण गरिदा आफूहरूलाई धेरै सहज भएको र बैङ्कसम्म जानुपर्ने झण्झट टरेको बताउनु भयो ।
पालिका भित्रका २ सय ५५ जना ज्येष्ठ एकल नागरिकको लागि २० लाख ३४ हजार ९ सय रुपियाँ, ४ सय ४८ विधवा आर्थिक सहायता अन्तर्गत ३५ लाख ५६ हजार ४ सय २० रुपियाँ जम्मा भएको छ । गाउँपालिकाभित्र रहेका पूर्ण अपाङ्गता ५२ जनाको लागि ६ लाख १९ हजार ९४ रुपियाँ र ‘ख’ वर्ग अपाङ्गता अन्तर्गत १०७ जनाको लागि ६ लाख ७८ हजार २ सय ८६ रुपियाँ नेपाल बैङ्कको लागभ्राहीको खातामा जम्मा भइसकेको सामाजिक सुरक्षा शाखाले जनाएको छ ।
गाउँपालिकाभित्र रहेका १ सय ८६ दलित बालबालिकाले बालपोषण अन्तर्गत पाउने २ लाख ८६ हजार ८ सय ११ रुपियाँ समेत गरी ३ करोड बढी रकम लाभग्राहीको खातामा जम्मा भएको हो ।
नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवाप्रदान गरिने उद्देश्यले वडातहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनु भयो । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले विगतदेखि नै नियमितरूपमा वडा तहमापुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायत अन्य शिविर नियमित सञ्चालन गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले बैशाख ८ गतेदेखि गाउँटोलमै पुगेर भत्ता बितराण् सुरु गरेको हो ।
‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि भत्ता
बगनासकाली गाउँपालिकाले लोककल्याणकारी कार्यक्रम अन्तरगत अघिल्लो वर्षबाट ‘ग’ र ‘घ’ वर्गका लाभग्राहीलाई उपलब्ध गराउँदै आएको छ । उनीहरुले पनि ६ महिनाको निर्वाह भत्ता गाउँमै पुगेको टोली मार्फत बुझेका छन् । गाउँपालिकाले ग वर्गका ८३ र ३ वर्गका ३२ गरी जम्मा १ सय १५ जनालाई एकमुष्ठ ३ लाख १ हजार ६ सय रुपियाँ नेपाल बैङ्कमा जम्मा गरिदिएको हो । गाउँपालिकाले ग वर्गका अपाङता भएकाको लागि मासिक ५ सय र घ वर्गका अपाङ्गता भएकाको लागि मासिक ३ सय रुपैंया निर्वाह भत्ता वितरण गर्दै आएको छ ।
