INSEC Online

📅 २०८३ जेष्ठ २१

निःशुल्क पाइने रेविजविरुद्धको खोप अभाव हुँदा बिरामी मर्कामा !

दाङको राप्ती प्रादेशिक अस्पतालमा निशुल्क पाइने रेविजविरुद्धको खोप अभाव हुँदा बिरामीको उपचार प्रभावित भएको छ ।

माग गरेअनुसार भ्याक्सिन नआउँदा उपचारमा समस्या भएको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले जनाएको छ । प्रादेशिक अस्पतालबाट दैनिक ३० जना बिरामी फर्काउनु परेको अस्पतालका ड्रेसिङ एवम् खोप शाखाकी सुनिता पोख्रेलले जानकारी दिनुभयो । शान्तिनगर गाउँपालिका–३, चिराघाटका २० वर्षीय सन्दिप गन्धर्वले कुकुरले टोकेर रेविजविरुद्ध खोप लगाउन जाँदा अस्पतालमा खोप नपाएपछि घर फर्किएको बताउनु भयो । ‘निशुल्क पाइन्छ भनेर अस्पताल गए । तर अस्पतालले सुई सकिएको भनेपछि किन्ने पैसा थिएन । पैसा नभएर आज घर फर्किए ऋण सापटी गरेर सुइ किन्नुपर्ला’ – उपचार नगरी घर फर्किए बिरामी गन्धर्वले भन्नुभयो ।

अस्पतालमा निःशुल्क पाइने खोप अभाव भएपछि बिरामीहरूले निजी अस्पतालमा गएर प्रति खोप ६ सयमा किनेर लगाउने गरेका छन् । निजी अस्पतालमा भने रेविजविरुद्धको खोप किनेर लगाउन पाइन्छ । वैशाख ८ गते आफ्नै घरमा पालेको कुकुरले टोकेर बिरामी परेका तुलसीपुर उपमहानगरपालिका–५, रानीजरुवाका १६ वर्षीय निराजन खड्काले राप्ती प्रादेशिक अस्पतालमा निःशुल्क खोप नपाएपछि निजी अस्पतालमा ६ सय रुपियाँमा किनेर खोप लगाएको बताउनु भयो । एक जनाले कम्तीमा तीन ओटा भ्याक्सिन लगाउनुपर्ने र ती सबै खोप निजीमा किनेर लगाउनुपर्ने बाध्यता रहेको बिरामी खड्काले बताउनु भयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति महाशाखाले एक पटकमा ८० देखि १ सय भाइल भ्याक्सिन मात्रै दिने गरेको उल्लेख गर्दै अस्पतालले कुकुरले टोकेर दैनिक ४० जनासम्म रेविजविरुद्धको खोप लगाउन अस्पताल आउने गरेको खोप शाखाकी सुनिता पोख्रेलले जानकारी दिनुभयो । जताततै खोपको अभाव छ भन्ने खवर आएको र भ्याक्सिन पर्याप्त नहुँदा बिरामीले दुख पाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिनुभयो । उहाँले दैनिक खोपका लागि फ्लोअप गरिरहेको तर आउने ठेगान नभएको बताउनु भयो । भ्याक्सिन आउने बित्तिकै खवर गर्ने आश्वासन प्रदेश सरकारबाट पाइएको डा. अधिकारीले बताउनु भयो ।

यसैगरी जिल्लाका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि रेविजविरुद्धको खोपको समस्या रहेको छ । प्रतिष्ठानका प्रशासन प्रमुख रमिता गौतमले सरकारले एक पटकमा १ सय ४० भ्याक्सिन पठाउने तर बिरामी ४ सयभन्दा बढी आउने गरेको भन्दै बिरामीले निजी अस्पतालमा गएर भ्याक्सिन लिने गरेको बताउनु भयो । यसैगरी लमही अस्पतालले पनि भ्याक्सिन सकिन लागेको जनाएको छ ।

अन्य

भिडियो