दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पा जिल्लामा १८ ओटा मतदान स्थल अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ ।
बाँकी ४० मतदानस्थल सम्वेदनशील र ६० मतदानस्थल समान्य स्थलमा सूचीकृत गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए । पाल्पा जिल्लामा १ सय १८ मतदानस्थल र २ सय २६ मतदान केन्द्र रहेका छन् ।
जिल्लामा जम्मा मतदाता सङ्ख्या १ लाख ८१ हजार २ सय ५५ रहेको छ । जसमा महिला ९४ हजार ८ सय ३१, पुरूष ८६ हजार ४ सय २३ र तेस्रो लिङ्गी १ जना मतदाता रहेका छन् ।
जिल्लाका सबै मतदानस्थलहरूको सुरक्षा निकायले निरीक्षण गरी सोही अनुसारको सुरक्षा योजना बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दिल्लीराज पन्तले बताए ।
सबै मतदान केन्द्रमा मङ्सिर २१ गते मतदान कर्मचारीहरू पुगेका छन् । उनीहरूले स्थानीय राजनीतिक दलहरूसित समेत समन्वय बैठक बसालेको मुख्य निर्वाचन अधिकृत शङ्करराज बरालले बताए ।