INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्षदेखि एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई सास्ती !

बङ्गलाचुली गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्स एक वर्षदेखि बिग्रिएपछि बिरामीहरूलाई सास्ती भएको छ । बङ्गलाचुली गाउँपालिका भित्रका जटिल तथा सुत्केरीलाई समयमा अस्पतालमा पुर्‍याउन खरिद गरिएको एम्बुलेन्स मर्मत नगर्दा बिरामीले नीजि सवारी साधन प्रयोग गर्दै आएका छन् ।

भौगोलिक विकटता दुर्गम गाउँबस्तीका नागरिक बिरामी हुँदा गाडी नपाउने र पाए पनि नीजि गाडीले महङ्गो भाडा तिरेर अस्पताल लैजानु परेपछि गाउँपालिकाका नागरिकले दुख पाएका छन् । बङ्गलाचुली गाउँपालिकाको एम्बुलेन्स बिग्रिएपछि नागरिकले समयमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति समस्यामा परेका छन् ।

बङ्गलाचुली गाउँपालिकामा एक वर्ष यता एम्बुलेन्स सेवा अबरुद्द भएको उल्लेख गर्दै स्थानीयले तत्काल सेवा सुचारू गर्न माग गरेका छ्न् । पहाडी र विकट क्षेत्र भएकाले इमर्जेन्सी उपचारका लागि घोराही जानु परे अटोरिक्सामा महङ्गो भाडा दिएर जोखिमपूर्ण यात्रा गर्नु परेको भन्दै तत्काल एम्बुलेन्स सेवा सञ्चालन गर्न गाउँपालिकालाई आग्रह गरिएको स्थानीय सुशील परियारले बताउनु भयो । वैशाख ७ गते ‘स्वास्थ्य हाम्रो अधिकार, एम्बुलेन्स खोइ सरकार ?’ भन्ने नारा लेखिएका प्लेकार्डसहित स्थानीय युवाहरूले गाउँपालिका कार्यालयमै पुगेर प्रदर्शन गरेका हुन् । साथै उनीहरूले एम्बुलेन्स सेवा तत्काल सञ्चालन नगरे आन्दोलन थाल्ने चेतावनी दिएका छ्न् । अहिले स्थानीय सरकारको ध्यानाकर्षण मात्रै गराएको उल्लेख गर्दै परियारले समस्याप्रति गम्भीर हुन गाउँपलिकालाई आग्रह गर्नुभएको छ ।

स्थानीयले अटो रिजर्भ गर्दा महङ्गो पैसा तिर्नुपर्ने र सिमेन्ट कारखानाका टिप्परले सडक समेत बिगारेर जीर्ण बनाएकाले यात्रा जोखिमपूर्ण बनेको भन्दै एम्बुलेन्स सेवा तत्काल सुचारु गर्न माग गरेका छ्न् । यसअघि बङ्गलाचुली गाउँपालिकाले सञ्चालन गरेको रा १ झ १३२ नम्बरको एम्बुलेन्स दुर्घटना भएर मर्मतका लागि लगिएको थियो । तर मर्मतमा लगेको पनि महिनौ भइसक्दा एम्बुलेन्स सेवा सञ्चालन हुन सकेको छैन । बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसिराम पुनले दुघटनामा परेको एम्बुलेन्स मर्मत गर्न लाखौ लाग्ने र नयाँ किन्नका लागि गाउँसभाबाट पास गर्नुपर्ने भएकाले तत्काल सेवा सुचारु गर्न नसकिएको तर समस्याको हल गर्न पालिका लाग्ने बताउनु भयो ।

०७२ सालमा जारी भएको नेपालको संविधानले गरेको व्यवस्था अनुसार स्थानीय तह गठन भएको १० वर्ष पुग्नै लाग्दासम्म पनि आफ्नो स्थानीय सरकार मातहतका जनतालाई स्वास्थ्य सुविधा दिनका लागि एम्बुलेन्स मर्मत नगरेका हुन् ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लखे छ । संविधानले आकस्मिक स्वास्थ्य सेवाको हक भन्ने उल्लेख गरे तापनि कतिपय अवस्थामा तत्काल एम्बुलेन्स नपाउँदा जटिल अवस्था सृजना हुने गरेको छ ।

अन्य

भिडियो