INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक आन्दोलनले भर्ना अभियान तथा ग्रेडबृद्धि परीक्षा स्थगित

नेपाल सरकारले सबै बालबालिकाको विद्यालयमा सहभागित, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नारा सहित ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सरु गरेको भए पनि नेपाल शिक्षक महासंघले विभिन्न मागराखि सङ्घीय राजधानी काठमाडौमा ०८१ चैत २० गतेदेखि आन्दालन सुरु गरेपछि यस क्षेत्रका विद्यालयहरुको पठनपाठन प्रभावित हुनुको साथै विद्यार्थी भर्ना अभियान समेत स्थगित गरिएको छ । शिक्षक आन्दालनका कारण जिल्लाको शैक्षिक क्षेत्रमा परेको प्रभावका बारेमा इन्सेक प्रतिनिधिहरुले अनुगमनबाट प्राप्त सूचनाहरु यस प्रकार छन् ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार शिक्षकहरुको आन्दोलनका कारण जिल्लामा विद्यार्थी भर्ना अभियान स्थगित भएको छ । १४ दिनदेखि भइरहेको शिक्षक महासंघले ०८१ चैत २० गतेदेखि काठमाडौँ केन्द्रीत आन्दोलन सुरु गरेपछि विद्यार्थी भर्ना लगायतका शैक्षिक कार्यक्रम स्थगित भएका हुन् ।

वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान तथा वैशाख ५ गते पाठ्यपुस्तक वितरण गर्ने कार्यतालिका छ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने माग गर्दै काठमाडौँमा गर्दै आइरहेको आमहडतालमा ऐकेवद्धता जनाएपछि जिल्लाका सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो ।

जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र माध्यमिक विद्यालय खलंगा, मालिकार्जुन माध्यमिक विद्यालय धाप, लेकमको लटिनाथ माध्यमिक विद्यालय चौपाता, शैल्यशिखरको पशुपती भवन माध्यमिक विद्यालय, ग्वानी लगायतका विद्यालयले भर्ना अभियान तथा सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरेका छन् ।

महेन्द्र माध्यमिक िविद्यालय, खलंगाका प्रधानाध्यापक दामोदर जोशीले शिक्षक महासंघ, शिक्षक कर्मचारी आन्दोलनका कारणले गर्दा सिर्जना गरेको शैक्षिक हड्तालका कारण अर्को सूचना नभएसम्मको लागि सबै कार्यक्रम स्थगित गरिएको जनाउनु भयो । उहाँले भन्नुभयो, ‘यो अहिलेको विशम परिस्थिति हो । निर्णयक आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई हौसला दिन ऐक्यबद्धता जनाएका छौं ।’

महासंघको आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने उद्देश्य अनुरुप सामुदायिक विद्यालयहरुले ऐक्यबद्धता जनाइरहेका छन् । महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा पु¥याउन भन्दै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक गतिविधि नगर्न पत्रचार गरेको थियो ।

महासंघको निर्णयलाई समर्थन गर्दै आन्दोलनमा ऐक्वद्धता स्वरुप विद्यार्थी भर्ना अभियान तथा शैक्षिक कार्यक्रम स्थगित गरिएको मालिकार्जुन माध्यमिक विद्यालय, धापका प्रध्यानाध्यापक सुन्दरसिंह बुढाथोकीले जानकारी दिनुभयो । अहिलेकै परिस्थति रहे कक्षा ११ र १२ को परीक्षा समेत प्रभावित हुन सक्छ ।

सरकारले शैक्षिक सत्र ०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयलाई परिपत्र गरेको छ । अहिलेकै परिस्थितिले जिल्लामा वैशाख ५ गने गरिन भनिएको पाठ्यपुस्तक वितरण कार्यक्रम प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले बताउनु भयो । भर्ना अभियान निरन्तर चल्छ, उनले भने, तर पाठ्यपुस्तक वितरण कार्यक्रम प्रभावित हुने देखिन्छ । जिल्लाको लागि २३ हजार थान बढि पाठ्यपुस्तक आइसकेको छ ।

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले सामुदायिक विद्यालयको विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ ।

सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक कर्मचारीहरु आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत ०८१ चैत २० गतेदेखि शिक्षक कर्मचारीहरुले काठमाडौँमा सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्ताल समेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासंघको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् ।

महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो– “शिक्षक÷शिक्षिका आन्दोलनमा काठमाडौँ गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन् । सरकारले माग सम्बोधन गरे शैक्षिक कार्यक्रम अगाडि बढ्छ ।

शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले सूचना जारी गर्दै विद्यालयका शैक्षिक गतिविधि बन्द गरिएको जानकारी दिनुभयो । शिक्षक महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेकोले हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासंघको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको  प्रधानाध्यापक ओझाको भनाइ छ ।

महेन्द्रनगरस्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सरकारले शिक्षकका माग सम्बोधन नगरेसम्म विद्यालय बन्द रहने बताउनु भयो ।

नेपाल शिक्षक महासंघले आन्दोलनलाई सशक्त बनाउन भर्ना अभियान, परीक्षा र पठनपाठनका कार्य, प्रवेश परीक्षा, नतिजा प्रकाशन, विद्यार्थी भर्ना नगर्ने भनी विज्ञप्ती जारी गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति, कञ्चनपुरका सचिव एवं शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक विष्टले बताउनुभयो । उहाँका अनुसार सरकारले विद्यालय शिक्षा विधेयक तत्काल पारित गरेर ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने र कक्षा १२ को परीक्षा, एसईई उत्तरपुस्तिका परीक्षणमा पनि शिक्षकहरूको सहभागिता नरहने निर्णय गरेको छ ।

जिल्लाका अधिकांश विद्यालयका शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं गएकाले सामुदायिक विद्यालयको पठनपाठन लगायतका शैक्षिक कार्यक्रम बन्द छन् । यसले समग्र शैक्षिक गतिविधिहरुलाई प्रभाव पार्ने देखिएको छ ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३१ को १ मा प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुँचको हक हुने व्यवस्था गरिएको भए पनि शिक्षकहरुको आन्दोलनका कारण भर्ना अभियान स्थगित हुँदा बालबालिकाहरु विद्यालय जानबाट बञ्चित  भएका छन् । वार्षीक परीक्षाको नतिजा प्रकाशन भएको एक महिना भए पनि  विद्यार्थी भर्ना सुरु नगरेकाले बालबालिका विद्यालय जानबाट बञ्चित हुनु परेको हो ।

धनगढी प्रविधिक माध्यामिक विद्यालयका छात्र दिपेश चौधरीले एक महिना अगाडी रिजल्ट आए पनि अझैसम्म कक्षा सातमा भर्ना हुन नसकेको गुनासो गर्नु भयो ।

अभिभावक रामलाल रानाले समयमा विद्यार्थी भर्ना नहुँदा सोही अनुसार पाठ्यक्रम नसकिने र विद्यार्थीहरु समस्यामा पर्ने तथा परीक्षाको नतिजा पनि राम्रो नआउने भएकाले शिक्षाको गुणस्तर पनि खस्किने अवस्था देखिएको बताउनु भयो ।

धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर मावीका प्रधानाध्यापक भुपालसिंह खड्काले विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने माग राख्दै ०८१ चैत २० गतेदेखि देश भरका शिक्षकहरु काठमार्डौ केन्द्रीत आन्दोलनमा सहभागित भएका भए पनि सरकारले माग सम्बोधन नगरेका कारण भर्ना अभियान स्थगित गर्नु परेको बताउनु भयो ।

धनगढी उपमहानगरपालिका–२ स्थित शारदा मावीका प्रधानाध्यापक गणेश मिश्रले नेपाल शिक्षक महासंघले तत्काल विद्यलय शिक्षा ऐन जारी नहुँदा तथा शिक्षकहरुको माग सम्बोधन नहुँदा अनिश्चत कालका लागि शैक्षिक हड्तालको घोषण गर्दै विद्यार्थी भर्ना अभियान लगायतका सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चतकालका लागि स्थगित गरिएको बताउनु भयो ।

धनगढी उपमशानगरपालिका–८ स्थित धनगढी प्राविधिक माध्यामिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले ०८२ वैशाख २ गते सूचना प्रकाशन गरी विद्यार्थी भर्ना अभियान, पाठ्पुस्तक वितरण लगायतका सबै काम स्थगित गरिएको बताउनु भयो ।

इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीका अनुसार  शिक्षक महासंघको आयोजनामा सुरु गरिएको शिक्षकहरूको शैक्षिक आन्दोलनका कारण जिल्लामा विद्यार्थी भर्ना अभियान प्रभावित भएको पाइएको छ ।

जिल्लाका सवै विद्यालयहरूले ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नु पर्ने भए पनि कुनै पनि विद्यालयले भर्ना कार्यक्रम सञ्चालन नगरेको जिल्ला शिक्षा तथा समन्वय इकाइका सूचना अधिकारी पदमबहादुर साउदले बताए ।

जिल्लाका अधिकांस सामुदायिक विद्यालयहरुमा भर्ना अभियान प्रभावित भएको छ । कक्षा ८ को ग्रेड वृद्धि परीक्षा समेत प्रभावित बनेको सूचना अधिकार साउदको भनाइ छ ।

शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना प्रभावित बनेका कारण विद्यार्थीहरुलाई पुस्तक बितरण गर्न नसकिएको आदर्श गाउँपालिकाका श्रोत शिक्षक खडक बागले बताउनु भयो । समयमै विद्यार्थी भर्ना नभएका कारण विद्यालयको वार्षिक शैक्षिक योजना पनि प्रभावित हुने बागको भनाइ छ ।

यति बेला कक्षा कोठामा हुनु पर्ने विद्यार्थीहरु शिक्षक आन्दोलनका कारण घरमै बस्नु पर्ने बाध्यताले उनीहरुमा मनोबैज्ञानिक असर पर्न सक्ने भन्दै विद्यार्थी भर्ना अभियान र शैक्षिक कार्यक्रम प्रभावित भएकोमा अभिभावकले दुखेसो व्यक्त गरेका छन् ।

इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीका अनुसार शिक्षकहरूको आन्दोलनका कारण जिल्लाका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्रको भर्ना अभियान प्रभावित बनेको छ । आन्दोलनकै कारण जिल्लाभरका अधिकांश विद्यालयहरू अझै सञ्चालनमा आउन सकेका छैनन् । बालबालिका शिक्षाबाट वञ्चित भइरहेका छन् । संस्थागत विद्यालयहरूमा भर्ना अभियान सुरु भएपनि सामुदायिक विद्यालयहरूमा भर्ना प्रक्रिया थाति रहेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने मागसहित ०८१ चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

अमरगढी नगरपालिका–३ स्थित घटाल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर साउदले  विद्यालयका शैक्षिक गतिविधि ठप्प रहेको बताउनु भयो । उहाँका अनुसार कतिपय शिक्षक आन्दोलनमा सहभागि हुन काठमाडौंँ गइसकेको छन् भने कतिपय जाने तयारीमा छन् ।

महेन्द्र माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले नेपाल शिक्षक महासंघको आयोजनामा देशव्यापी रूपमा चलिरहेको शिक्षक हड्तालका कारण भर्ना अभियान सुरु हुन नसकेको बताउनु भयो । शैक्षिक हड्ताल समाप्त हुने वित्तिकै विद्यार्थी भर्ना लगायतका सम्पूर्ण शैक्षिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुने उहाँको भनाइ छ ।

परशुराम र अमरगढी नगरपालिका, भागेश्वर, गन्यापधुरा, नवदुर्गा, अजयमेरु र आलिताल गाउँपालिकाकाका विद्यालयले कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको तयारी गरेपनि शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित गरेका छन् ्। भागेश्वव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदनसिंह भाटले शिक्षक आन्दोलनका कारण ग्रेडवृद्धि हुन नसकेको बताउनु भयो ।

विद्यालय तहका शिक्षक तथा विद्यालय कर्मचारीहरूको माग सम्बोधनको लागि देशव्यापी रूपमा सुरु गरिएको आन्दोलनमा थप सक्रियता ल्याउने उद्देश्यले नेपाल शिक्षक महासंघ, डडेल्धुरा जिल्ला कार्य समितिले सम्पूर्ण शिक्षक, विद्यालय कर्मचारी तथा सरोकारवालाहरुलाई आर्थिक सहयोगका लागि सूचना जारी समेत गरेको छ । प्राथमिक तहमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट २ सय, प्रावि तृतीय तहबाट ४ सय, निमावि द्वितीय तहका शिक्षकबाट ५ सय र प्रधानाध्यापक तथा र मावि तहका शिक्षकबाट ८ सय रुपियाँ सहयो रकम संकलन गरिने जनाएको छ ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार शिक्षक महासंघको आयोजनामा सुरु गरिएको शिक्षकहरूको शैक्षिक आन्दोलनका कारण जिल्लामा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ ।

जिल्लाका सवै विद्यालयहरूले ०८२ वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नु पर्ने भए पनि कुनै पनि विद्यालयले भर्ना कार्यक्रम सञ्चालन गरेका छैनन् ।

जयपृथ्वी नगरपालिकाले ०८२ वैशाख ४ गते सूचना प्रकाशित गरी नगरपालका क्षेत्रका ४ कक्षादेखि ९ कक्षा वर्षिक परीक्षामा सम्मेलित भई शैदैन्तिक तर्फ बढीमा दुई विषयमा न्यूनतम ग्रेड प्राप्त  नगरेका विद्यार्थीहरुको ग्रेड बृद्धि परीक्षा वैशाख ६ गतेदेखि ९ गते निर्धारित गरिएको भए पनि नेपाल शिक्षक महासंघले विभिन्न मागराखि देशव्यापी रुपमा शैक्षिक हड्ताल गरेका कारण अर्का सुचना प्रकाशित नभएसम्म ग्रेड परीक्षा स्थगन गरिएको जनाएको छ ।

महासंघले आयोजना गरेको काठमाडौँ केन्द्रीत अन्दोलनमा शिक्षक तथा कर्मचरीहरु सहभागि भएका र जिल्लामा पनि शैक्षिक हड्तालको घोषणा गरिएकै कारण भर्ना अभियान र ग्रेड बृद्धि परीक्षा सञ्चालन गर्न नसकिने भएकोले  सूचना जारी गरी जानकारी गराइएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बताए ।

 

अन्य

भिडियो