धनकुटाको महालक्ष्मी नगरपालिका-२ माइती घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका-२ हलगाडामा बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय पति प्रेमबहादुर बुढाथोकीलाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।
पत्नी हत्या गरेको आरोपमा प्रहरीले ०८२ वैशाख २ गते प्रेमबहादुरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गिरफ्तार गरी सुनसरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो ।
चुनकुमारीको ०८१ चैत २५ गते धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा हत्या गरेर फालेको आरोपमा प्रहरीले पतिसहित परिवारका अन्य पाँच जना सदस्यलाई समेत गिरफ्तार गरेको छ ।
पतिपत्नीबिचको मनमुटाव र पत्नीलाई शङ्काका दृष्टि हेर्ने र सोही कारणका आाधारमा ३१ वर्षीय पति प्रेमबहादुर बुढाथोकीले योजना बनाएर परिवारका सदस्यको सहयोगमा चुनकुमारीको ०८१ चैत २५ गते हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुनकुमारीकै पति ३१ वर्षीय प्रेमबहादुर बुढाथोकी, प्रेमबहादुरका भाइ (चुनकुमारीका देवर) मोरङको पथरीशनिश्चरे नगरपालिका-३ संगम चोकमा बस्दै आएका २९ वर्षीय ढकेन्द्र बुढाथोकी, ढकेन्द्रकी पत्नी २५ वर्षीया सृष्टि बुढाथोकी, पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ लुमाङदिङ घर भइ मोरङको उर्लाबारी नगरपालिका-५ फागु टोलमा बस्दै आएका ३६ वर्षीय योगेन्द्र गौतम, योगेन्द्रकी पत्नी २८ वर्षीया डेनु गौतम र मोरङको पथरीशनिश्चरे-३ का ४० वर्षीय केशवराज दाहाललाई गिरफ्तार गरेको छ ।
पक्राउ पर्नेमध्ये योगेन्द्र गौतम प्रेमबहादुरका कान्छा ज्वाइँ र डेनु गौतम बहिनी भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नमध्ये भारतीय नागरिक ३५ वर्षीय राजु थापामगर फरार रहेको प्रहरीको भनाइ छ । भारत आसाम फोकन बस्तीका थापा मगर सृष्टिका फुपूका छोरा भएको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो ।
‘ढकेन्द्र, सृष्टि, डेनु र केशवराजलाई घर ठेगानाबाटै ०८१ चैत २९ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । योगेन्द्रलाई नेपाल-भारत सीमा क्षेत्र झापाको काँकडभिट्टाबाट ०८१ चैत ३० गते गिरफ्तार गरिएको प्रहरीको भनाइ छ ।
चुनकुमारीको हत्यामा चुनकुमारीका देवर ढकेन्द्र बुढाथोकी, नन्देभाइ योगेन्द्र गौतम र भारतीय नागरिक राजु थापामागरको प्रत्यक्ष संलग्नता रहेको प्रहरीले जनाएको छ । अरुले हत्याको योजना बनाउन, हत्यापछि घटना ढाकछोप गर्न र हत्यामा संलग्नलाई भगाउन भूमिका खेलेको एसपी तिम्सिनाको भनाइ छ ।
कोरियामा बस्दै आएका ‘प्रेमबहादुरकै मुख्य योजना र निर्देशनमा पारिवारिक नाता सम्बन्धका व्यक्तिहरुले चुनकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका-१ माइती भएकी चुनकुमारी र प्रेमबहादुरबीच १५ वर्षअघि बिहे भएको थियो । पतिसँग चुनकुमारीको सम्बन्ध विगतदेखि नै राम्रो नरहेको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा हत्या गरेर फालेको अर्धनग्न अवस्थामा ०८१ चैत २५ गते चुनकुमारीको शव फेला परेको थियो । कम्मरदेखि तलको कपडा खोलिएको र घाँटीमा झोलाको फित्ताले बाँधी रुखमा अडेसा लगाएर छाडिएको शव देखेपछि गाई वस्तु चराउन गएकाले प्रहरीलाई खबर गरेका थिए ।
शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा चैत २५ गते गरिएको छ । पीडित पक्षले शव बुझी चैत २७ गते सद्गत गरेको छ ।
आरोपितहरुविरुद्द प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०८२ वैशाख ४ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको छ ।