INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा सञ्चारकर्मीहरुमाथि कुटपिट

वीरगञ्ज महानगरपालिका-२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि हिन्दू र मुस्लिम समुदायबिच भएको झडपको रिपोर्टिङ गर्न ०८२ वैशाख २ गते जिल्ला प्रहरी कार्यालय परिसर पुगेका पत्रकारहरूमाथि कुटपिट भएको छ ।

विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले ०८१ चैत ३० गते आयोजना गरेको शोभायात्रा वीरगञ्ज महानगरपालिका-२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुगेपछि दुई पक्षबीच झडप भएको थियो ।

उक्त विवादका कारण वीरगञ्ज महानगरपालिका वैशाख २ गते तानवग्रस्त रहेको थियो । सोही सिलसिलामा रिपोर्टिङ गर्न जिल्ला प्रहरी कार्यालय परिसर पुगेका एभिन्युज टेलिभिजनका अर्जुन गुप्ता, मध्यनेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धीरेन्द्र तिवारीलगायतका सञ्चारकर्मीहरूमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

पत्रकारमाथि प्रहरीले कुटपिट गरेको घटनाको विरोध गर्दै नेपाल पत्रकार महासंघ पर्साले ०८२ वैशाख २ गते ध्यानाकर्षण-पत्र जारी गरेको छ ।

ध्यानाकर्षण-पत्र मार्फत नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोले समाचार सङ्कलनको क्रममा सञ्चारकर्मीहरू प्रदर्शनकारी तथा आन्दोलनकारीको ढुङ्गा र प्रहरीको लाठीको निशानामा पर्नु खेदजनक भएको बताउनु भयो ।

त्यसैगरी ध्यानाकर्षण-पत्रमा आम नागरिक र पत्रकारको सुरक्षको जिम्मेवारी लिएका प्रहरी प्रशासनले समाचार सङ्कलनका लागि खटिएका सञ्चारकर्मीहरूलाई सुरक्षित र भयरहित तरिकाले सामाचा सङ्कलन र संप्रेषण गर्ने वातावरणको ग्यारेन्टी गर्नुपर्दछ भनि उल्लेख गरिएको छ । साथै पत्रकारमाथि कुटपिट गर्ने दोषीको पहिचान गरी उनीहरूलाई कानुन बमोजिम कारबाहीको माग नेपाल पत्रकार महासंघ, पर्सा शाखाको ध्यानाकर्षण-पत्र मार्फत गरेका छ ।

अन्य

भिडियो