INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामी पर्दा उपचार खर्च जुटाउनै धौ धौ !

सिरदेखि पाउँसम्म कुनै बैङ्कको सुरक्षा गार्डको जस्तो पोशाक । हातमा एउटा लट्ठी छ । कम्मरसम्म झुण्डिएको सिठ्ठी र पुरानिएर च्यातिनै लागेका जुत्ता । उहाँलाई झट्ट हेर्नेहरूले सुरक्षाकर्मी नै होला भन्ने अड्कल काट्छन् । उक्त व्यक्ति सुरक्षाकर्मी पनि हैन तर सेवा बर्दी लगाएको प्रहरीको भन्दा कम छैन । उहाँलाई सबैले कलकत्ते दाई नामले चिन्छन् र काम नागरिक प्रहरीको ।

Photo10042025Palpa

४९ वर्षदेखि तानसेन बसपार्कमा रहेर निरन्तर नागरिक प्रहरीको भूमिका निर्वाह गर्नुभएका टोपप्रसाद श्रेष्ठ (कलकत्ते दाई) लाई नचिन्ने कमै होलान् । शरीर बुढ्यौलीतर्फ ढल्किए पनि उहाँको सक्रियता भने उस्तै छ । २००२ सालमा स्याङ्जा जिल्लाको तत्कालीन सिरुखर्क गाविसमा जन्मनुभएका कलकत्ते दाई २०३२ सालतिर कामको खोजीमा पाल्पा आएका बेलादेखि नै पाल्पा बसपार्कको सवारी व्यवस्थापन कार्यमा लाग्नुभएको हो । सवारी चालक र यात्रुहरूकाबिच कलकत्ते दाईले परिचित उहाँले बुढ्यौलीमा पनि यसरी देखाएको सक्रियता देखेर सबैले आदर गर्छन् ।

टाढाबाट आएका यात्रुलाई गन्तब्यमा पुर्‍याउन सहयोग गर्ने, चालक तथा सहयोगीलाई सवारीको साधनको अवस्था जाँचबुझ गरेर मात्रै गन्तब्यमा लाग्न सुझाव दिने, मादक पदार्थ सेवन नगर्न अनुरोध गर्ने, सवारी पार्किङ्गका लागि उपयुक्त स्थान देखाइने उहाँको दैनिकी हो । यसरी काम गरेबापत उहाँले कत्ति पनि तलब पाउनुहुन्न । सवारी चालकहरूले आदर दिएको पाँच/१० रुपियाँले उहाँको गुजारा चल्दै आएको छ ।

‘सानै छँदा आमाको मृत्यु भएपछि बा ले अर्को बिहे गरेँ । म सानो छँदा पनि पढेर समाजसेवी बन्ने रहर थिए । तर पढ्न पाइन । त्यसैले अहिले सडकमा बसेर यात्रुको सेवा गर्दैछु । यो मैले लगाएको सबै कपडा जडौरीमा आएको हो । सबैले मलाई माया गर्छन् । यो लट्ठी त देखाउनको लागि मात्रै हो कहिल्यै यसको प्रयोग गर्नुपरेको छैन कतिपय लफंगा केटाहरू पनि मलाई देखेपछि आफै डराएर भाग्छन्’ – उहाँले भन्नुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता बापत् मासिक ४ हजार रुपियाँ पाउने गरेको भए पनि उक्त पैसा बिहान साँझ खाना नास्ता खाँदा ठिक्क हुने बताउनु भयो । बिरामी परियो भने उपचार खर्च नहुने उहाँले भन्नुभयो ।

श्रेष्ठको परिवारमा अरु कोही छैन । उहाँ एक्लै हो । बिहान भाले बास्न नभ्याउँदैदेखि उहाँको ड्युटी सुरु हुन्छ र साँझ आँखाले मेसो पाउञ्जेलसम्म सडकमै खटिनुहुन्छ । सामान्य जागिरेको भए यो बीचमा धेरै बिदाहरू पर्ने थिए होला । तर उहाँले काम सुरु गरेदेखि अहिलेसम्म एक दिन पनि बिदा लिएर कहीँ कतै जानुभएको छैन । श्रेष्ठ प्रति प्रश्न गर्नुहुन्छ — ‘मेरो घर नै सडक हो । यहाँ हिँड्ने यात्रुहरू मेरा आफन्त हुन् । अब तपाई आफै भन्नुस् मैले बिदा लिएर कसलाई भेट्न जानु ?’ आम जनताकाबिचमा लोकप्रिय र विश्वासका पात्रका रुपमा परिचित उहाँलाई बसपार्क छेवैमा रहेको ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरूले समेत सम्मान गर्छन् ।

अन्य

भिडियो