INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गमैत्री संरचनाको अभावमा अपाङ्गताभएका व्यक्तिहरुलाई सेवा लिन सास्ती

अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले राज्यबाट प्रवाह गरिने सवासुविधाहरु लिन सास्ती खेप्नुपरेको छ । जिल्लामा अपाङ्गमैत्री भवनहरु निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गगताभएका व्यक्तिहरुको गुनसो छ ।

जिल्ला अपाङग संघका अध्यक्ष उपेन्द्र खडायतका अनुसार सरकारी कार्यालयमा कामकाजको सिलशिलामा जाँदा कोठाकोठा धाउनु पर्ने हुन्छ । अपाङ्गमैत्री भवन नभएका कारण अशक्त व्यक्तिलाई कार्यालयको आँगनसम्म पुग्न समेत कठिन हुने गरेको, सार्वजनिक शौचालय प्रयोग गर्न नसकिनेलगायतका समस्या भोग्नुपरेको छ ।

उहाँले भन्नुभयो– ‘सार्वजनिक यातायातका एउटै साधन पनि अपाङ्गतामैत्री छैनन् । होटल तथा रेष्टुरेन्ट, आर्थिक कारोवार गर्ने बैंक तथा बित्तीय संस्था, एटिएम बुथ, पसल, सपिङ कम्प्लेक्स, पार्क, मन्दिर कतै पनि अपाङ्गतामैत्री संरचना छैनन् ।’

अपाङ्गमैत्री भौतिक संरचना बनाउन नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त प्रणालीसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको भएपनि निर्देशिका कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन समस्या भएको जिल्ला अपांग संघका सदस्य जिवन भट्टले गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो– ‘‘अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले थुप्रै बहस तथा अन्तरक्रिया सञ्चालन गरिएकै छ । सरकारी कार्यालयहरु अपाङ्गमैत्री बनाउन सम्बन्धित निकायमा ध्यानाकर्षण गरिएको छ । तर, यसको कार्यान्वयन भएको छैन् ।’

जिल्लामा निर्माण भएका र गरिने सरकारी तथा गैरसरकारी कार्यालयका भवनहरू अपाङ्गमैत्री नभएका कारण अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा सेवा लिन नसकेको गैससका अध्यक्ष लक्ष्मी बोहराले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘सार्वजनिक भवन, सडक, शौचालय, सार्वजनिक स्थान, सार्वजनिक यातायात, सार्वजनिक सूचनाहरू अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त हुने गरी निर्माण गरिनु पर्ने अपाङ्गता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा ९ मा उल्लेख गरिएको छ । तर, त्यसको कार्यान्वयन हुनस सकेको छैन् । जसका कारण आपाङ्गताभएकाहरुले सेवा लिन सास्ती खेप्नुपरेको छ ।’

अपाङ्गमैत्री संरचनाको अभावमा आपाङ्गताभएका व्यक्तिहरुले सेवा लिदा समस्या भोग्नुपरेकाले यो समस्या समाधान गर्न आगामी दिनमा स्थानीय तहमा निर्माण गरिने भौतिक संरचनाहरू अपाङ्गमैत्री बनाउन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनु भयो ।

अन्य

भिडियो