इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार शिवराज नपा-९ शिवगढीको भगवानपुरमा मङ्सिर १५ गते उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट भएको छ ।
दिउँसो १ बजे नयाँ शक्ति पार्टीका प्रतिनिधि सभा उम्मेदवार इलियास मुसलमान घरदैलो अभियानमा बेला अज्ञात समूहले बम विष्फोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उम्मेदवारले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेको एम.ए.४३ ए.८३०० नम्बर भएको भारतीय नम्बार प्लेटको गाडीलाई लक्षित गरी अज्ञात समूहले बम विष्फोट गरेका थिए ।
विष्फोटबाट गाडीको अगाडिको भागमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रल्हाद अधिकारीले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै मङ्सिर १५ गते विजयनगर गाउँपालिका-१ कुकुरभुकवामा साँझ ७ बजे बम विष्फोट भएको छ । विष्फोटबाट कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
त्यसैगरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा (क) का तर्फबाट उम्मेदवार दिनेश जयसवालको वाणगङ्गा नपा-१० मा रहेको घरलाई लक्षित गरी अज्ञात समूहले मङ्सिर १६ गते बिहान करिब १ बजे विष्फोट गराएको छ । विष्फोटबाट घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अधिकारीले जानकारी दिए ।
इन्सेक तेह्रथुम जिल्ला प्रतिनिधि भगिश्वर लिम्बुका अनुसार प्रतिनिधि सभाका लागि समानुपातिक तर्फका वाम गठबन्धनका तीन जना उम्मेदवार चढेको गाडी लक्षित गरी मङ्सिर १६ गते दिउँसो रेडबुल बम विष्फोट भएको छ ।
धनकुटा र तेह्रथुमको सिमाना तेलिया खोला नजिकै सिधुवा शुक्रबारे सडक खण्डको छथरगाउ गाउँपालिका-१ तेलियामा शनिबार दिउँसो पौने १ बजेतिर रेडबुल बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
छथरको शुक्रबारेमा आयोजित संयुक्त वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका नेकपा एमालेका समानुपातिक उम्मेदवार डाक्टर विजय सुब्बा, माओवादी केन्द्रका समानुपातिक उम्मेदवार होमकुमारी खापुङ र शुसिला कन्दङ्वालगायतका नेता चढेको गाडीलाई लक्षित गरी बम पड्काइएको प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले बताए ।
उनका अनुसार बम विष्फोटका कारण मे १ ज २०२ नम्बरको लेण्डरोभर गाडीको हेडलाइट, रेगुलेटर र अगाडिको चक्कामा क्षति पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
इन्सेक सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार शितलपाटी श्रीनगरमा राखिएको सुतली बम नेपाली सेनाले निष्कृय पारेको छ ।
बिना विभागीय मन्त्री टेकबहादुर बस्नेतको निवास छेउकै निर्माणधीन घरको ढोकामा राखिएको बम नेपाली सेनाको टोलीले दिउँसो निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शारदा नगरपालिका-१ श्रीनगरमा खुमबहादुर सुनारको निर्माणाधीन घरको ढोकामा बम भेटिएको प्रहरीले जनाएको छ । बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सेनाले सुरक्षित रूपमा बम निष्कृय पारेकोले कुनै किसिमको क्षति हुन नपाएको प्रहरीले जनायो ।
इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँ क्षेत्र नम्बर-२ को प्रदेश क्षेत्र नं १ का नेपाली काङ्ग्रेस उम्मेदवार प्रदिप पौडेलको घरको आँगनमा मङ्सिर १६ गते बिहान सकेट बम विष्फोट भएको छ ।
शुक्लागण्डकी नपा-८ को गणपतेस्थित पौडेलको घर आँगनमा बिहान करिब पौने पाँच बजेतिर बम विष्फोट भएको हो ।
काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पौडेलको घरको आँगनमा बम विष्फोट भएको र घरका सबै सदस्य सकुशल रहेको तनहुँ प्रहरीले जनायो ।
बम विष्फोट गराउने समूहको पहिचान भएको छैन । विष्फोट गराउनेको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी उमेशराज जोशीले बताए ।