पतिको हत्यामा संलग्नलाई कार्बाहीको माग राख्दै उच्च अदालत सुर्खेतमा धर्नामा बस्नुभएकी जाजरकोट जिल्लाको जनिचाँदे गाउँपालिका–६ की ३४ निर्मला शाही, उहाँका छोरा र २५ वर्षीय बहिनी सरा शाहीलाई प्रहरीले ०८१ चैत २१ गते गिरफ्तार गरेको छ ।
उहाँका ४२ वर्षीय पति रामबहादुर शाहीको ०८१ माघ १७ गते गाउँमै हत्या गरिएको थियो । शाही माघ १७ गते जुनिचाँदे गाउँपालिका–५ स्थित शिवपुरी माध्यामिक विद्यालयमा भइरहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हेर्न जानुभएको थियो । खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा काहाँरे खोलामा उहाँ मृत अवस्थामा भेटिनुभएको थियो ।
हत्यामा संलग्न भएको आरेपमा एक १५ वर्षीय बालकसहित नौँ जना विरुद्ध पीडित पक्षले कर्तव्य ज्यानको मुद्दा दर्ता गरेका थिए । जिल्ला अदालत जाजरकोटको ०८१ फागुन १३ गतेको आदेशले रेशमबहादुर शाही र रामबहादुर शाहीलाई २ लाख ५० हजार रुपियाँका दरले, अर्की आरोपित मैसरा शाहीलाई १ लाख रुपियाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । अर्का आरोपित रामबहादुर शाही र ६५ वर्षीया तुला कुमारी शाहीलाई साधार तारेखमा छोड्ने अदालतले आदेश दिएको थियो । त्यस्तै १५ वर्षीय बालकलाई अभिभावकको जिम्मा लगाइएको थियो । अन्य तीन जना पैमबहादुर शाही, बिरबहादुर शाही र जयबहादुर शाहीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।
जाजरकोट अदालतको आदेश विरुद्ध उच्च सरकारी वकिलको कार्यालय सुर्खेतले ०८१ चैत ३ गते उच्च अदालत सुर्खेतमा (७३ नम्बरको) मुद्दा दर्ता गरेको थियो । चैत ४ गते उच्च अदालत सुर्खेतले जाजरकोट जिल्ला अदालतसँग कैफियत प्रतिवेदन मागेको थियो । उच्च अदालत सुर्खेतले घटनाका विपक्षीलाई जानकारी दिने आदेश जारी गरेको उच्च अदालत सुर्खेतका उपरजिष्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिनुभयो । ‘सरकारी पक्षबाट निवेदन आएपछि हामीले जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेका थियौँ । सोही बमोजिम आजको इजलासले प्रतिवादीलाई जानकारी दिने आदेश दिएको छ’ – उहाँले भन्नुभयो ।
हत्यामा संलग्न भएका व्यक्तिहरूलाई धछोडिएको भन्दै उनीहरूलाई कार्बाहीको माग गर्दै मृतककी पत्नी निर्मला शाही नाबलक छोरासहित चैत १९ गतेदेखि उच्च अदालत सुर्खेतमा धर्ना दिनुभएको थियो । उहाँसँगै निर्मलाकी बहिनी २५ वर्षीया सरा शाही पनि धर्नामै हुनुहुन्थ्यो । धर्नामै बसिरहेका बेला शरीरमा पेट्रोल छर्कन लागेको भन्ने सूचना पाएपछि क्षतिबाट बचाउन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अजय डाँगीले जानकारी दिनुभयो । ‘अदालत अगाडि धर्ना बसिरहेका बेला शरीरमा पेट्रोल छर्किरहेको भन्ने सुचना पाएपछि क्षति हुनबाट बचाउन हामीले नियन्त्रणमा लिएका हौँ । अहिले उहाँहरूसँग कसरी शान्तिपूर्ण रूपमा कार्यक्तम अगाडि बढाउने भन्ने विषयमा छलफल गरिरहेका छौँ’ – उहाँले भन्नुभयो ।