चन्दननाथ नगरपालिका–७, महतगाउँका ३४ वर्षीय प्रेम महतले आफूलाई प्रहरी हिरासतमै कुटपिट गरिएको आरोप लगाउनु भएको छ । बसपार्कमा चैत १६ गते भएको कुटपिटको घटनामा संलग्न रहेको भन्दै गिरफ्तार गरेर महतले प्रहरी हिरासतमै आफूमाथि कुटपिट गरिएको बताउनु भएको हो ।
कुटपिटका कारण महतको टाउकोमा चोट लागेको र लुगासमेत च्यातिएको उहाँले बताउनु भयो । प्रहरी नियन्त्रणमै रहेका व्यक्तिमाथि गरिएको यस्तो व्यवहार कानुन विपरीत भएको भन्दै विरोध गरिएको छ । कर्णाली हिउँचितुवा यातायात प्रालिका अध्यक्ष कृष्णबहादुर थापाले जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदिलाल कामतिको भूमिका राम्रो नभएको बताउनु भयो । उहाँले कानुनी प्रक्रिया भन्दा बाहिर गइ मनोमानी गरेको आरोप लगाउँदै डिएसपी विरुद्ध उजुरी दिने तयारी भइरहेको जानकारी दिनुभयो । डिएसपी कामतिको निर्देशनमै कुटपिट भएको समितिका अध्यक्ष थापाको आरोप छ ।
प्रहरी प्रशासनको हिरासतमा रहेका व्यक्तिमाथि कुनै पनि हालतमा शारीरिक यातना दिन नहुने कानुनी प्रावधान छ । तर प्रहरीको निरन्तरणमै रहेका व्यक्तिलाई कुटपिट गर्नु मानव अधिकार उल्लङ्घन भएको देखिएको भन्दै स्थानीयवासी र यातायात व्यवसायीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
यातायात व्यवसायी गणेश मल्लका अनुसार प्रहरीले कुटपिट गरेको विषयमा पीडित पक्षले चैत १९ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । जिल्ला अदालतमा पनि मुद्दा दर्ता गर्ने तयारी गरिएको उहाँले बताउनु भयो । डिएसपी कामतिका अनुसार हिरासतमा कसैलाई पनि कुटपिट भएका छैन ।