२६ वर्षीया महिलालाई विद्युत पोलमा बाँधेर कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उमनपा–११ का २८ वर्षीय गोपाल चौधरी, २४ वर्षीया शिवाकुमारी चौधरी र २८ वर्षीय हिरामती चौधरीलाई गिरफ्तार गरेको छ ।
काम छ भनि चैत ९ गते घरमा बोलाएर चोरीको आरोप लगाउँदै चौधरी परिवारले पीडित महिलालाई सडकमा लगेर विद्युत पोलमा बाँधी मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत १४ गते उजुरी दिएपछि प्रहरीले आरोपितहरूलाई चैत १४ गते नै गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । कुटपिटका कारण दुवै आँखा, घाँटी र छातीमा गम्भीर चोट लागेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको अस्पतालले जनाएको छ ।
घटनामा संलग्नमाथि कार्वाहीको माग
कुटपिट घटनाको भत्र्सना गर्दै इन्सेकलगायत जिल्लास्थित मानव अधिकारकर्मीहरूले घटनामा संलग्नहरूमाथि कारवाहीको माग गरेका छन् । चैत १५ गते संयुक्त विज्ञप्ति जारी गर्दै इन्सेक जिल्ला प्रतिनिधि, मानव अधिकार सञ्जाल दाङका सदस्य विनोद केसी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, अन्तरपाटी महिला सञ्जाल दाङकी अध्यक्ष प्रमिता चौधरी, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य सुशीला पौडेल, जिल्ला सचिव सरस्वती सुवेदी र अधिकारकर्मी खुमा खड्काले संयुक्त विज्ञप्ति निकालेर दोषीमाथि कार्वाहीको माग गर्नुभएको हो ।
विद्युत पोलमा बाँधेर कुटपिट गर्ने अमानवीय कार्य भन्दै विज्ञप्तिमा कानुनको खिलापमा हुने यस्ता मानवअधिकारसम्बन्धी घटना फेरि दोहोरिन नदिन र पीडितलाई न्याय र उपचारको व्यवस्था गर्न माग गरिएको छ । साथै यस्ता अमानवीय व्यवहारका घटनामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिको रोहबरमा प्रहरी कार्यालयमै मिलापत्र गराइएको भन्दै यस्ता प्रयास नगर्न र पीडितलाई न्याय दिन माग गरिएको छ ।