INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्ति सुरक्षाप्रति गम्भीर हुन आयोगको निर्देशन

उत्पन्न परिस्थितिको आँकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकारप्रति संवेदनशील हुन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरुसँग आग्रह गरेको छ ।

प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति चासो व्यक्त गरेको ०८१ चैत १४ गते जारी विज्ञप्तीमा उल्लेख छ ।

समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले चैत १५ गते उपत्यकामा आफ्नो शक्ति प्रदर्शनको तयारी गरेको भनी विभिन्न समाचार माध्यममा आएका समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसै सन्दर्भमा आयोगले ०८१ चैत १४ गते उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको विज्ञप्तीमा उल्लेख छ ।

छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय बिच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको बताउनु भएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न निर्देशन दिनु भएको छ ।

अतः आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित प्रावधानहरुको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अन्य

भिडियो