INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा तुलसीपुर बम काण्डको स्थलगत अनुगमन, पीडित परिवार तथा सरोकारवालासँग भेटघाट

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जले तुलसीपुरमा भएको बम विष्फोटको घटनाको मङ्सिर १५ गते स्थलगत अनुगमन गरेको छ ।

क्षेत्रीय प्रमुख भोला महतको नेतृत्वमा आएको टोलीले मङ्सिर १२ गते तुलसीपुरमा भएको बम विष्फोटको घटनाका पीडित एवम् सरोकारवालाहरूलाई भेटघाट गरेको हो । अनुगमन टोलीमा इन्सेक क्षेत्रीय प्रमुख भोला महत, अभिलेख अधिकृत नारायण सुवेदी, इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागर र मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा थिए ।

Photo20171201Dang

टोलीले घटनामा परी ज्यान गुमाएका म्यादी प्रहरी २३ वर्षीय विनोद चौधरीको तुलसीपुर उपमनपा-१२ क्वाँगीस्थित घरमै पुगेर पीडित परिवारसँग भेट गरेको छ । मृतकको घरमै पुगेर टोलीले परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

Photo20171201Dang2

टोलीले घटनाको अवस्था, पीडित परिवारको अवस्था, उपचार र राहत तथा सहयोगको विषयमा परिवारसँग छलफल गरेको थियो । पीडित परिवारले घटना पश्चात घाइते चौधरीको उपचारका लागि राज्यले लापरबाही गरेको आरोप लगाए ।

मङ्सिर १२ गते दिउँसो पौने ४ बजे घटना भएको तर घाइतेको अवस्था गम्भीर भएपनि उपचारका लागि साँझ ७ बजेमात्रै नेपालगञ्ज लगिएकोले अत्यधिक रक्तश्रावका कारण विनोदको ज्यान गएको मृतकका दाजु जुगवीर चौधरीले बताए ।

Photo20171201Dang1

उनले प्रधानमन्त्रीको चुनावी सभाको सुरक्षाका क्रममा बम विष्फोट हुँदा घाइते भएकाहरूलाई प्रधानमन्त्री चढेर आएको हेलिकोप्टरबाटै तत्काल उपचारका लागि लैजाने अवस्था हुँदाहुँदै पनि बेवास्ता गरिएको गुनासो गरे ।

जुगवीरले भने-‘प्रधानमन्त्री देउवाले घाइतेहरूलाई हेलिकोप्टरमा लगेको भए जीवन दान दिने थिए तर कसैले हेरेनन् । उपचारमा ढिलाई भयो र रगत बगेर भाइको अकालमै ज्यान गयो ।’

पीडित परिवारले घटना भएको ३ घण्टापछि मात्रै परिवारलाई जानकारी दिएको भन्दै तत्काल जानकारी पाएको भए आफूहरूले नै समयमा उपचारका लागि लैजान सक्ने बताए ।

मृतक चौधरीका बुवा, आमा, डेढ वर्षीया छोरी, १९ वर्षीया पत्नी, ४ दाजु र एक भाइ छन् । एकजना दाजु जीतबहादुर चौधरी त नेपाल प्रहरीमै कार्यरत छन् ।

घरपरिवारले उपचारमा ढिलाई हुँदा विनोदको ज्यान बचाउन नसकेपनि आश्रति परिवारलाई उचित राहत, छोरीलाई निःशुल्क पठनपाठन र पत्नी अञ्जनालाई उचित रोजगारीको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् ।

बिमा बापत १५ लाख, सरकारले राहत स्वरूप दिने भनेको १० लाख रुपियाँ तत्काल उपलब्ध गराउन मागसमेत गरे । यसैगरी टोलीले घटनामा घाइते भएकी तुलसीपुर उपमनपा-७ की २२ वर्षीया जेनी डिसी र ४० वर्षीया देवा डिसीका आफन्त देवबहादुर वलीसँग पनि भेट गरी घाइतेको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

घाइतेहरूका परिवारले पीडितको उपचार खर्च व्यहोर्ने भनिएपनि हाल उपचार खर्च परिवार र आफन्तहरूले नै व्यवहोर्नुपरेको बताए ।

यसैगरी इन्सेक टोलीले दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहसँग भेट गरी समग्र जिल्लाको सुरक्षा अवस्था, चुनावी सुरक्षा, तुलसीपुर बम विष्फोटको घटनाको बारेमा जानकारी लिएको थियो । एसपी सिंहले घटनामा एक म्यादी प्रहरीको मृत्यु भएको, अर्का एक जना घाइते भई उपचारपश्चात डिस्चार्ज भएको तीन जनाको ललितपुरको बि एण्ड बि र एक जनाको युनाइटेड अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जानकारी दिएकी थिइन् ।

साथै थप तीन जनाको उपचार राप्ती अञ्चल अस्पतालमा भएपछि घर फर्किसकेको जानकारी दिइन् । उनले घटनाको जिम्मेवारी कसैले नलिएको र घटनाको अनुसन्धान भइरहेको बताइन् । सो अवसरमा टोलीले घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहत उपलव्ध गराइ घाइतेहरूको उपचारमा ध्यान दिन आग्रह गरेको थियो ।

यस्तै इन्सेक टोलीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसँग भेट गरेको थियो । भेटमा पाण्डेले घटनामा परी ज्यान गुमाएका विनोद चौधरीकी डेढ वर्षीया छोरी प्रमिशाको माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने र २५ हजार रुपियाँ किरीया खर्च दिने बताएका थिए ।

अन्य

भिडियो