इटहरी उमनपा-९ मा मङ्सिर १४ गते मध्यान्ह भएको बम विष्फोटमा परी पाँच जना घाइते भएका छन् ।
विष्फोटमा परी इटहरी-९ का १४ महिनाका बालक यमन न्यौपाने, १६ वर्षीया शर्मिना अधिकारी, ४० वर्षीय धनबहादुर श्रेष्ठ, ४५ वर्षीय कुमारी कटुवाल र १६ वर्षीया सिर्जना अधिकारी घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउतले बताए ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारका लागि धरान र विराटनगर पठाइएको डिएसपी राउतले बताए ।
नेपाली काङ्ग्रेसले आयोजना गरेको वडास्तरीय भेला भइरहेको स्थान नजिकै बम विष्फोट भएको बमले बाटो हिँडिरहेका सर्वसाधारण घाइते भएका हुन् । बम कसले विष्फोट गराएको भन्ने थाहा नभएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।