डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा ०८१ चैत २ गते बालबन्दीहरूबिच झडप हुँदा १६ जना बालक र चार जना प्रहरीसहित २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक पातलीका अनुसार जयेन्दु बालसुधार गृहमा रहेको बालबन्दीहरू एक आपसमा विवाद उत्पन्न भइ तनाव श्रृजना भएको थियो । सो विवादलाई समाधान गर्न प्रयास गर्दा स्थिति झन उग्र बनेको र भित्र ढुङ्गामुढा गरी भवनबाट आगोको धुवाँ निस्कन थालेपछि स्थिति नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको थियो । तर बालसुधार गृहमा रहेको २ सय ५५ जना बालबन्दीहरू बाहिर आइ प्रहरीलाई ६ सय मिटरसम्म लखेटेका थिए । जयेन्दु बालसुधार गृहमा चैत १ गते रातिबाट आपसी विवाद उत्पन्न भएपछि चैत २ गते झडप सुरु भएको डिएसपी पातलीले बताउनु भयो ।
जयेन्दु बालसुधार गृहमा झडप हुँदा १९ वर्षीय चन्द्र बहादुर खडका, १९ वर्षीय देन महतरा, १९ वर्षीय सुभाष राढ, १७ वर्षीय बालक, २१ वर्षीय आशीष चौधरी, १९ वर्षीय सन्जय परियार, १८ वर्षीय सन्दीप चौधरी, १७ वर्षीय बालक, २० वर्षीय परन तमाङ्ग, १८ वर्षीय रमेश बस्नेत, १७ वर्षीय बालक, १९ वर्षीय उपेन्द्र पुनमगर, १६ वर्षीय बालक, १९ वर्षीय प्रकाश राना, १६ वर्षीय बालक, १९ वर्षीय तेजु थापा घाइते भएका छन् भने प्रहरी तर्फ प्रहरी जवान ३० वर्षीय विरेन्द्र महतरा, कृष्ण कार्की, रणबीर विक र यमलाल परियार घाइते भएका छन् । घाइते मध्ये दुई जनाको सिटीस्क्यानका लागि नेपालगञ्ज शिक्षण अस्पतालमा र अन्य सबैको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइ डिस्चार्ज भएको छ ।