शुभप्रभात मावि घोराही उपमहानगरपालिका-४ का प्रधानाध्यापक ५८ वर्षीय रुद्रबहादुर बुढाले घोराही उमनपा-१४ का वडा अध्यक्ष भानसिंह बुढाले कुटपिट गरेको भन्दै विद्यालयमा पठन पाठनको वातावरण बनाइ जीवन सुरक्षाको माग गर्नुभएको छ ।
विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदा फागुन २८ गते अध्यक्ष बुढाले कुटपिट गरेको भन्दै फागुन २९ गते विज्ञप्ति निकालेर विद्यालयमा पठनपाठनको वातावरण बनाउन र जीवन सुरक्षाको माग गर्नुभएको हो । तेस्रो पटक पनि अभिभावकको गणपुरक सङ्ख्या नपर्दा पनि निर्णय गर्न वडाध्यक्ष भानसिंह बुढाले दबाब दिएको र नमान्दाखेरी हातपात गरेको बताउनु भयो । उहाँले आफूमाथि भएको हातपातले विद्यालयमा अध्यापनरत शिक्षकहरूले पठनपठान गर्न समस्या भएको भन्दै विद्यालयलाई शान्तिपूर्ण वातावरण बनाइदिन अपिल गर्नुभयो ।
यसैबिच शिक्षक महासङ्घका अध्यक्ष युवराज बस्नेतले फागुन २९ गते विज्ञप्ति निकालेर प्रधानाध्यापकमाथि भएको हातपातको विरोध गर्दै विद्यालयलाई शान्ति क्षेत्रको रूपमा स्थापित गरी दोषीमाथि कारवाहीको माग गर्नुभएको छ । तर घोराही उमनपा-१४ का अध्यक्ष भानसिंह बुढाले तेस्रो पटक पनि विद्यालय व्यवस्थापन समिति गठन गर्न गणपुरक सङ्ख्या नभएको र सहमतिमा विद्यालय व्यवस्थापन समिति गठन गर्न राजनीतिक सहमति भइसकेको अवस्थामा निर्णय लेख्न नमान्दा विवाद भएको स्पष्ट पार्नुभयो ।