INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका कारण वर्षौँदेखि दाम्लोले बाँधिएर कष्टकर जीवन भोग्दै !

मालारानी गाउँपालिका-५, टिमुरेका २३ वर्षीय हरि नेपाली मानसिक स्वास्थ्य अपाङ्गता भएका कारण वर्षौँदेखि दाम्लोले बाँधिएर कष्टकर जीवन भोग्दै आउनुभएको छ ।

आमा तुल्सी नेपालीले ०८१ फागुन २८ गते मानसिक अपाङ्गता भएको छोरा हरि नेपालीलाई आँगनमा लिएर खुट्टामा बाँधि राखेको साङ्गलोमा दाम्लो बल्झाएर रुखमा बाध्नु भएको थियो । बदुवा हरि साङ्गलो र दाम्लो फुत्काउन सक्नुहुन्न, धुलो हिलो माटोमा बस्ने, हातमा ढुङ्गा बटुल्ने र यता उता आफ्नै सुरले हल्लिने गर्नुहुन्छ । तर हातमा लिएको ढुङ्गाले कसैलाई हान्नुहुन्न ।
हरिलाई सधैँ जसो बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म खाली खुट्टा साङ्गलो दाम्लोले बलियोसँग बाँधेको अवस्थामा खेलेका हुन्छन् । कोठाभित्र राखे पनि दाम्लोले बाँध्नै पर्ने यात कोठाभित्र ढोकामा चाबी लगाएर थुन्नै पर्ने बाध्यता भएको हरिको आमाले बताउनुहुन्छ । उहाँले भन्नुभयो – ‘हामी घाँसपात खेतबारी जाँदा नबाँध्ने नथुन्ने हो भने हिँडेर हराउँछ र भेटाउन सकिँदैन । अरुको बैगुन गर्दै हिँड्छ । त्यसैले बाँधेर राखेको ।’

छोराको समस्या निको हुने भए यो घरबारी बेचेर भए पनि औषधी उपचार गर्न लैजाने हरिको आमाले बताउनु भयो । दश वर्ष अगाडि नागरिकता र अपाङ्गताको कार्ड बनाएपछि पैसा जुटाएर छोराको उपचारको लागि काठमाडौँ लगिएको उहाँको भनाइ छ । उहाँका अनुसार अस्पतालले उपचार गर्न सम्भव नरहेको भन्दै औषधी मात्रै दिएको थियो ।

मानसिक स्वास्थ्य अपाङ्गता भएका हरिलाई १२ वर्षदेखि कोठाभित्र थुनेर दाम्लोले बाँधेर राखेको थाहा पाएपछि सोध्ने र फोटा खिच्ने मानिस आएको तर उपचारको लागि कसैले पनि सहयोग नगरेको हरिको आमाले बताउनु भयो ।

अन्य

भिडियो