INSEC Online

📅 २०८३ जेष्ठ २१

घाइते उम्मेदवारलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

मङ्सिर १३ गते बिहान अज्ञात समूहले थापेको एम्बुसमा परी गम्भीर घाइते भएका नेपाली काङ्ग्रेस उदयपुरका उम्मेदवार नारायणबहादुर कार्कीसहित दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।

मध्यान्न १२:३० बजे उम्मेदवार कटारी नगरपालिका-७ रिस्कुका कार्की र गम्भीर घाइते उदयश्री वहुमूखी क्याम्पस कटारीकी नेविसङ्घका सभापति कटारी-३ की २३ वर्षीया मीरा कटुवाललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।

विष्फोटनमा परी उदयपुरगढी गाउँपालिका-८ की धनमाया धौलाकोटी, चालक कटारी नगरपालिका-७ रिस्कुका ३६ वर्षीय राजन कार्की, प्रहरी जवान कालिदास श्रेष्ठ घाइतेको नेपालटारस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीले जानकारी दिए ।

उम्मेदवार कार्कीलाई लक्षित गरी अज्ञात समूहले मङ्सिर १३ गते बिहान थापेको एम्बुस विष्फोटन हुँदा बा.१.च. ७८०६ नम्बरको सेतो बोलेरो जिपमा सवार उम्मेदवारसहित पाँच जना घाइते भएको डिएसपी अधिकारीले बताए । एम्बुसमा परी जिप सडक किनारामा पल्टिएको छ ।

प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार कार्कीको एउटा हात चलेको छैन भने आँखालेसमेत काम गरेको छैन । उनको शरीरका सबैजसो भागमा चोट लागेको स्थानीय बोधकुमार घिमिरेले बताए । घाइते कटुवालको एउटा गोडाको कुर्कुचा मुनीको भाग नै नरहेको जनाइएको छ ।

उदयपुरगढी गाउँपालिका-६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा-२ का काङ्ग्रेसका उम्मेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विष्फोट भएको हो । कार्की २०७० सालमा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् ।

1

1

1

1

1

1

1

1

1

अन्य

भिडियो