पाल्पाको चिलाङ्दी-चापपानी-राम्दी बाटो निर्माणको काम समयमा नसकिँदा धुँलो, धुँवा र हिलोका कारण स्थानीय र यात्रुहरू स्वच्छ वातावरणको अधिकारबाट वञ्चित भएका छन् ।
चिलाङ्दी-चापपानी-राम्दी सडक खण्डका स्थानीय र यात्रुहरूले वायु प्रदूषणले मानिसका आँखा पोल्ने, चिलाउने, नाक चिलाउने, नाक पोल्ने रुघाखोकी लाग्ने, घाँटी खसखसाउने, आँखा सुख्खा हुने, कमजोर महसुस हुने लगायतका तत्कालीन समस्याहरू भोगिरहेका छन् । दैनिक सयौ सवारी र हजारौ यात्रुको ओहोरदोहोर हुने पाल्पाको चर्चित मोटरबाटो चिलाङ्दी-चापपानी-राम्दी सडक निर्माण सम्पन्न गर्नुपर्ने समय ७ वर्ष अघि नै हो । तर सडकको अवस्था भने उस्तै धुलाम्मे छ । वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा स्थानीय र यात्रुहरूले यात्रा गर्न बाध्य छन् ।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको चिलाङ्दी-चापपानी-राम्दी सडक निर्माणको कामको निरन्तरताको माग सहित स्थानीय अगुवाहरूले ५ सय जना बढीको हस्ताक्षर सङ्कलन गरी जिल्ला प्रशासन कार्यालय, सडक पुर्वाधार विकास कार्यालय पाल्पा र बगनासकाली गाउँपालिकामा ध्यानाकर्षणपत्र सहित बुझाएका छन् । वाइपी जय रक्तकाली जेभी पुल्चोकले उक्त बाटो निर्माणका लागि सम्झौता गरेर सम्पन्न गर्ने मिति ७ वर्ष अघि नै सकिए पनि काम राम्रोसँग हुन नसकेको र बाटो थप जीर्ण भएको भन्दै हस्ताक्षर सङ्कलन सहित ध्यानाकर्षणपत्र बुझाएको अभियन्ता इन्द्र खाम्चा मगरले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने क्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले यो बाटोको स्तरोन्नतीको काम समयमा हुन नसक्दा बाटो थप जीर्ण बन्दै गएको र स्थानीय समुदायबाट पनि बाटोको काम समयमा गराउन पालिकमा समेत दवाव आएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बाटोको काम तत्काल सुरु गराउने गरी लाग्न सम्बन्धित कार्यालयलाई आग्रह गर्नुभयो । सडक पूूर्वाधार विकास कार्यालयका प्रमुख बासुदेव भण्डारीले कार्यालयको तर्फबाट आर्थिक तथा अन्य विषयमा कुनै समस्या नरहेको निर्माण व्यवसायीले काम गर्दा काम अनुसारको भुक्तानी दिन सकिने अवस्था रहेको बताउनु भयो ।
गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले निर्माण व्यवसायीले बिचमा केही काम गरे पनि सम्पन्न हुने गरी काम नगरेकोले यसअघि बनेको बाटो समेत बिग्रदै गएको बताउनु भयो । उहाँले निर्माण व्यवसायीले काम गर्दा स्थलगत रुपमा गर्नुपर्ने सहयोगका लागि गाउँपालिका तयार रहेको बताउनु भयो । पहिलो चरणमा ०७५ वैशाखमा महिनामा मालारानीदेखि गेझासम्म ४ किलोमिटर पिच भएको थियो । त्यस्तै दुई वर्ष अघि गेझादेखि गरनडाँडासम्मको बाटोमा निर्माण व्यवसायीले पिच तथा स्तरोन्नती गरे पनि जीर्ण बन्दै गएको छ ।
आठ किलोमिटर सडक कालोपत्रे गर्न ०७३ असोज १९ गतेदेखि काम सुरु गरेर ०७४ पुस २० गते सम्पन्न गर्नेगरी ०७३ असोज ४ गते तत्कालीन जिल्ला प्राविधिक कार्यालय र निर्माण कम्पनीबिच सम्झौता भएको थियो । विश्व बैङ्कको ८ करोड ३१ लाख रुपियाँको सहयोगमा एसएनआरटिपि परियोजना मार्फत चापपानीको ठकुरीबारीबाट गरनडाँडासम्मका लागि पिच गर्नेगरी निर्माण व्यवसायी कम्पनीले जिम्मा लिएको थियो ।
चिलाङ्दी चापपानी तथा राम्दी सडक उत्तरी पाल्पाको प्रमुख सडकको रूपमा रहेको छ । सडक पूर्ण रूपमा पिच भएपछि तानसेन आर्यभञ्ज्याङ्ग राम्दी सडकको बैकल्पिक मार्गको रूपमा चिलाङदी चापपानी सडकलाई प्रयोग गर्न सकिने वडा सदस्य प्रकाश न्यौपानेले बताउनु भयो । सिद्धार्थ राजमार्गको तानसेन राम्दी भन्दा यो सडक १५ किलोमिटर छोटो दुरीमा रहेको छ । उत्तरी पाल्पाका जनताहरू स्याङ्जा गल्याङ, वालिङ तथा पुतलीबजार पोखरा लगायतका स्थानमा आवतजावतको लागि यो सडक प्रमुख मार्गको रूपमा रहने छ ।