नेपाली काङ्ग्रेस उदयपुरका उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी अज्ञात समूहले मङ्सिर १३ गते बिहान थापेको एम्बुस पडकँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् ।
उदयपुरगढी गाउँपालिका-६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ का काङ्ग्रेसका उम्मेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विष्फोट भएको हो ।
विष्फोटनमा परी उम्मेदवार कार्की, उदयश्री वहुमूखी क्याम्पस कटारीका नेविसङ्घका सभापति मीरा कटुवाल, नाम नखुलेका चालक र अन्य एक कार्यकर्ता घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए ।
उनका अनुसार घाइतको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टर मगाइएको छ । कार्कीको एउटा हात चलेको छैन भने कटुवालको पैतलामा चोट लगोको जनाइएको छ ।
घटनास्थल सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ भर्खरै प्रहरी परिचालन भएकाले पुगेपछि मात्र विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।
मङ्सिर १२ गते मात्र नेपाली काङ्ग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र-१ का उम्मेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा-२ का काङ्ग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी अज्ञात समूहले बम विष्फोटन गराएको थियो ।