भूकम्पले घर भत्किए पनि लाभग्राहीको सूचीमा नाम नपरेपछि गुनासो फारम भरेका ओखलढुङ्गाका भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा थन्किएका छन् । गुनासो व्यवस्थापन समितिले चासो नदिएपछि पीडितका गुनासा सचिवका झोलामा थन्किएका हुन् । मौसमी राहत लिए पनि इञ्जिनियरको टोलीले अनुगमन गर्दा मर्मत गरेका, घरै नपुगी विवरण लिइएका कारण ५ हजार ८ सय भूकम्प पीडितहरूको नाम लाभग्राहीको सूचीमा छुटेको थियो ।
गाविस सचिवहरूलाई ०७३ असार र साउन गरी दुई महिनामा गुनासो फारम बुझाएका पीडितहरूको गुनासो फारम नै जिल्ला आइपुगेको छैन । जिविसको कम्प्युटर शाखाका प्रमुख पदम परियारले गाविसबाट सचिवले गुनासो गर्नेको सङ्ख्या मात्र टिपाएको बताए ।
जिल्ला विकास समितिले पुनः निर्माण प्राधिकरणलाई रिर्पोटिङ गर्न सङ्ख्या मागे पनि गुनासो फारम मागेर छानबिन थालेको छैन । स्थानीय विकास अधिकारीले चासो नदिएपछि छानबिन नभएको गुनासो व्यवस्थापन समितिकै सदस्यहरूले बताएका छन् । गुनासो छानबिन नहुँदा पीडितहरू अन्यौलमा परेको प्राप्चाका लेखनाथ फुयालले बताए ।
स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्रीले अनुदान वितरणको कामले गुनासो छानबिन गर्न नसकेको बताए पनि अनुदान वितरण समेत तथ्याङ्क व्यवस्थापन गर्न नसक्दा एक महिना रोकिएर भदौ लागेपछि शुरू भएको छ । अझै पीडितहरूको खातामा रकम भने पुगी सकेको छैन । ओखलढुङ्गाका अनुदान सम्झौता भएका १७ हजार ३ सय परिवारमध्ये हालसम्म ५ सय ७७ जनाले मात्रै अनुदान पाएका छन् ।